वीरगंज,१२ असाेज । वीरगंज महानगरपालिका–२६ सुगौली र वडा नम्बर १७ अलौ क्षेत्रमा विगत पाँच वर्षदेखि अवरुद्ध रहेको पानी निकास खोल्ने काम महानगरपालिकाले सुरु गरेको छ।
वर्षायाममा पानीको उचित निकास नहुँदा सुगौली, अलौलगायत आसपासका बस्तीमा जलजमाव हुने गरेको थियो। निकास अवरुद्ध हुँदा स्थानीय बस्ती प्रभावित हुनुका साथै खेतीयोग्य जमिनमा समेत पानी जम्ने समस्या देखिँदै आएको थियो।
लामो समयदेखि रहेको समस्या समाधान गर्न महानगरपालिकाले स्थलगत टोली परिचालन गरी निकास क्षेत्रमा रहेका अवरोध हटाउन थालेको हो। टोलीले निकास क्षेत्रको निरीक्षण गर्दै पानीको बहाव सहज बनाउन आवश्यक काम गरिरहेको महानगरपालिकाले जनाएको छ।
पाँच वर्षदेखि रोकिएको पानी निकास खुल्ने भएपछि आगामी वर्षायाममा सुगौली, अलौ तथा आसपासका क्षेत्रमा हुने जलजमावको समस्या कम हुने स्थानीयवासीले अपेक्षा गरेका छन्।
महानगरपालिकाले अवरुद्ध निकास पूर्ण रूपमा खुलाएर पानीको सहज बहाव सुनिश्चित गर्ने कामलाई निरन्तरता दिएको जनाएको छ।

प्रतिक्रिया