वीरगन्ज :

रौतहटमा पाँच थान सालको गोलिया काठसहित एक जना पक्राउ

श्रेणी : BANNER

8 minutes
Pradeep Sah
2.5kViews
1147 Shares

रौतहट,१२ असोज । रौतहटमा अवैध रूपमा सालको काठ ओसारपसार गरिरहेको आरोपमा एक जना पक्राउ परेका छन्।

चन्द्रपुर नगरपालिका–७ स्थित रङ्गपुर साझेदारी वन क्षेत्रबाट अवैध रूपमा काठ ओसारपसार भइरहेको सूचनाका आधारमा खटिएको वन गस्ती टोलीले आइतबार राति उनलाई नियन्त्रणमा लिएको हो।

चन्द्रपुर सब–डिभिजन वन कार्यालय र रङ्गपुर साझेदारी वनबाट खटिएको संयुक्त टोलीले राति करिब ९ बजे नयाँबस्ती कटानीदेखि उत्तरतर्फको वन क्षेत्रमा अनुगमन गर्ने क्रममा काठ ओसारपसार गरिरहेको अवस्थामा उनलाई पक्राउ गरेको जनाएको छ।

गस्ती टोलीले घटनास्थलबाट २४.७० क्युबिक फिट बराबरको पाँच थान सालको गोलिया काठ, तीन वटा साइकल र एउटा आरा बरामद गरेको छ।

पक्राउ पर्ने व्यक्ति चन्द्रपुर नगरपालिका–७ नयाँबस्ती कटानीका स्थानीय रहेको वन कार्यालयले जनाएको छ। अनुसन्धान जारी रहेकाले उनको नाम भने सार्वजनिक गरिएको छैन।

पक्राउ परेका व्यक्ति तथा बरामद काठ र अन्य सामग्रीलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय रौतहटमा बुझाइएको छ।

वन क्षेत्रमा हुने अवैध कटान तथा काठ चोरी–तस्करी नियन्त्रण गर्न वन कार्यालयले रातिको समयमा समेत नियमित तथा आकस्मिक गस्ती गर्दै आएको जनाएको छ।

काठ नियन्त्रण अभियानमा डिभिजन वन कार्यालय रौतहट, चन्द्रपुर सब–डिभिजन वन कार्यालय, रङ्गपुर साझेदारी वन, सशस्त्र प्रहरी बेस सन्तपुर, प्रहरी चौकी बनबहुअरी र प्रहरी चौकी सन्तपुरका सुरक्षाकर्मी तथा कर्मचारीको सहभागिता रहेको थियो।

वन कार्यालयले वन संरक्षण तथा अवैध काठ कटान र ओसारपसार नियन्त्रणका लागि आगामी दिनमा पनि गस्ती र निगरानीलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *