काठमाडौं,१५ चैत । सरकारले गत भदौ २४ गते देशभर भएका हिंसात्मक गतिविधिबारे छुट्टै उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले एक साताभित्र समिति गठन गरी अनुसन्धान अघि बढाउने तयारी गरेको हो।
नयाँ समितिलाई उक्त दिन भएका आगजनी, तोडफोड र लुटपाटका घटनाको विस्तृत अध्ययन गर्दै जिम्मेवार पक्ष पहिचान गर्ने जिम्मा दिइनेछ। साथै, घटनाको पृष्ठभूमि, परिचालनमा संलग्न शक्ति र सुरक्षा व्यवस्थामा देखिएका कमजोरीसमेत विश्लेषण गर्ने कार्यादेश रहनेछ।
यसअघि सरकारले भदौ २३ का घटनामा बढी ध्यान दिएको भन्दै २४ गतेका दोषीहरू उम्काउन खोजिएको आरोप लागेपछि यो निर्णय गरिएको हो। नागरिक समाज र विभिन्न पक्षबाट आएको दबाबपछि सरकार दुवै दिनका घटनालाई समान रूपमा हेर्ने दिशामा अघि बढेको देखिएको छ।
सरकारले छानबिनपछि दोषी ठहर हुने जोसुकैलाई कानुनअनुसार कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। समितिको प्रतिवेदनले आगामी दिनमा राजनीतिक तथा कानुनी प्रक्रियामा थप प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया