श्रेणी : BANNER
वीरगंज (पर्सा) । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ की प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार रिमा कुमारी यादव पछिल्लो समय मतदातामाझ लोकप्रिय बन्दै गएकी छन् । सरल स्वभाव, जनतासँगको प्रत्यक्ष सम्पर्क र समाजप्रति जिम्मेवार नेतृत्वको प्रतिबद्धताका कारण उनीप्रति जनसमर्थन बढ्दै गएको स्थानीयवासी बताउँछन् ।
उम्मेदवार यादवले निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मत प्रयोग गर्न आग्रह गर्दै भारी मतका साथ विजयी गराउन अपिल गरेकी छन् । उनले आफू निर्वाचित भएमा क्षेत्र नम्बर–२ का नागरिकका समस्या, आवश्यकता र आवाजलाई संसद्सम्म पुर्याउने स्पष्ट प्रतिबद्धता जनाएकी छन् ।
शिक्षा, स्वास्थ्य, रोजगारी, महिला तथा युवाको सशक्तीकरणलाई मुख्य एजेन्डा बनाएकी यादवले राजनीति सेवा र जिम्मेवारीका रूपमा लिनुपर्ने धारणा व्यक्त गरिन् । जनताप्रति जवाफदेही, पारदर्शी र इमानदार नेतृत्व प्रदान गर्दै पर्सा–२ लाई विकास र सद्भावको नमुना क्षेत्र बनाउने लक्ष्य आफूले लिएको उनले बताइन् ।
स्थानीय स्तरमा घरदैलो, भेटघाट र जनसंवाद कार्यक्रममार्फत सक्रिय रूपमा उपस्थित रहँदै आएकी उम्मेदवार रिमा कुमारी यादवप्रति दिनानुदिन बढ्दो जनविश्वासले क्षेत्र नम्बर–२ को राजनीतिक माहोल थप उत्साहित बनेको छ ।

प्रतिक्रिया