काठमाडौं,०१ पुस । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गर्दै डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ। पेट्रोलमा भने प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको छ।
नयाँ मूल्यअनुसार डिजेल र मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ कायम भएको छ। यस्तै, पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६२ रुपैयाँ र तेस्रो वर्गका लागि १६३ रुपैयाँ तोकिएको छ।
निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्गमा राखिएको छ। सुर्खेत र दाङ डिपो दोस्रो वर्गमा तथा काठमाडौं, पोखरा र दिपायल डिपो तेस्रो वर्गमा समावेश छन्। डिपोबाट १५ किलोमिटरसम्म उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ।
निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेल र मट्टितेल प्रतिलिटर ६ रुपैयाँ ९३ पैसा घटेर र पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९४ पैसा बढेर आएको हुँदा खुद्रा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ।

प्रतिक्रिया