
श्रेणी : BANNER
बीरगन्ज,२१ साउन । पर्सा जिल्लामा ३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन महिनासम्म फरार रहेका दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–२ का ४० वर्षीय नेक महमद र हाल बीरगन्जमा बसोबास गर्दै आएका २१ वर्षीय अफताव अन्सारी रहेका छन्। उनीहरूलाई मंगलबार बीरगन्ज–१५ स्थित प्रतिमा चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।
प्रहरीका अनुसार २०८२ साल वैशाख २० गते ती महिलालाई गोठबाट घर फर्किने क्रममा बाटोमै घेरा हालेर अपहरण गरिएको थियो। त्यसपछि उनीहरू पीडितलाई बीरगन्जको बसपार्क नजिकैको गणेश होटलमा लगेर तीन दिनसम्म बन्धक बनाएर बलात्कार गरेका थिए। वैशाख २३ गते बिहान पीडितलाई घडिअर्वा पोखरीमा छाडेर आरोपी फरार भएका थिए।
प्रहरीको अनुसन्धान अनुसार नेक महमदले बीरगन्ज–१३ स्थित राधेमाईमा मोटरसाइकल वर्कशप सञ्चालन गर्दै आएका थिए भने अफताव अन्सारी सोही वर्कशपमा सहयोगीका रूपमा कार्यरत थिए।
दुवै अभियुक्तलाई प्रारम्भिक अनुसन्धानका लागि पाँच दिनको म्याद अदालतबाट अनुमति लिएर थुनामा राखिएको छ।


प्रतिक्रिया