उपलब्ध कागजातअनुसार ठाकुरले निखत परविन अंसारीसँग करिब १ करोड ६० लाख रुपैयाँ मूल्यमा विवादित जग्गा खरिद गर्ने करार गरेका छन् भने जगदीश साह कानूसँग भएको अर्को करारमा मुद्दा विचाराधीन रहेको जग्गा ७ करोड ५० लाख रुपैयाँमा खरिद गर्ने सम्झौता गरिएको उल्लेख छ ।
यही कारण अहिले प्रहरी अनुसन्धान स्काईलाइन महलसम्बन्धी जाहेरीमा सीमित रहने कि ठाकुरसँग जोडिएका अन्य विवादित जग्गा कारोबारसम्म पुग्ने ? भन्ने प्रश्न उठेको छ । पर्सा प्रहरीले भने यो बिषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
मुद्दा अदालतमा, तर कारोबारको करार
जगदीश साह कानूसँग भएको करारपत्रमा उक्त जग्गासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख छ । करारपत्रमै जग्गा मुद्दासहित बिक्री गर्न पहिलो पक्ष सहमत भएको र दोस्रो पक्ष अर्थात् संजय कुमार ठाकुरले मुद्दासहित जग्गा खरिद गर्न मञ्जुर गरेको विवरण राखिएको छ ।
करारमा उक्त जग्गाको मूल्य ७ करोड ५० लाख रुपैयाँ कायम गरिएको देखिन्छ । तर, कागजातले देखाउने अर्को रोचक पक्ष रकम भुक्तानीको हो । करारमा विभिन्न व्यक्तिका नामबाट ठाकुरको बैंक खातामा चेकमार्फत रकम भुक्तानी गरिएको विवरण राखिएको छ । त्यसमध्ये १० लाख, ५ लाख, ५ लाख र १० लाख रुपैयाँ गरी ३० लाख रुपैयाँ पहिलो चरणमा भुक्तानी गरिएको विवरण उल्लेख छ ।
करारको अर्को शर्तमा जग्गाको धनी प्रमाण पुर्जा प्राप्त भएपछि बाँकी रकम भुक्तानी गरी ठाकुर वा उनले तोकेको व्यक्तिको नाममा जग्गा पारित गरिदिने व्यवस्था गरिएको देखिन्छ । बाँकी रकम ७ करोड २० लाख रुपैयाँ रहेको उल्लेख छ । यसले अदालतमा मुद्दा विचाराधीन रहेको जग्गामा समेत ठूलो रकमको पूर्वसम्झौता र भावी स्वामित्व हस्तान्तरणको योजना बनाइएको देखाउँछ ।
निखतसँगको करारमा पनि मुद्दाग्रस्त जग्गा
अर्को करारपत्र निखत परविन अंसारीसँग सम्बन्धित छ । उक्त कागजातमा निखतको नाममा रहेको जग्गा हालको नापीअनुसार वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १० अन्तर्गत पर्ने विवरण राखिएको छ ।
करारमा उक्त जग्गा मुद्दा विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै निखतले संजय कुमार ठाकुरलाई बिक्री गर्न र ठाकुरले खरिद गर्न मञ्जुरी जनाएको देखिन्छ । यस करारमा जग्गाको एकमुष्ट मूल्य १ करोड ६० लाख रुपैयाँ कायम गरिएको छ । करारका विभिन्न शर्तमा अदालतमा विचाराधीन मुद्दा टुंगिएपछि जग्गा पास गर्ने, बाँकी रकम भुक्तानी गर्ने तथा मुद्दा किनारा लगाउने प्रक्रियामा दोस्रो पक्षलाई सहयोग गर्ने व्यवस्था राखिएको देखिन्छ ।
अर्थात्, दुवै कागजातमा देखिएको साझा पक्ष हो—विवाद वा मुद्दा रहेको जग्गा, करारमार्फत खरिदको प्रतिबद्धता र मुद्दा टुंगिएपछि स्वामित्व हस्तान्तरण गर्ने योजना। यसैबीच स्थानीयवासीले वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित रेल्वेको करिब ३२ कठ्ठा जग्गासँग जोडिएको कारोबार समेत अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन् ।
स्थानीयका अनुसार उक्त जग्गाका विषयमा जगदीश साह कानूसँग सार्वजनिक जग्गा करिब ७ करोड ५० लाख रुपैयाँमा खरिद गर्ने गरी गरिएको कागजपत्र समेत प्रहरी अनुसन्धानको विषय बन्नुपर्ने देखिन्छ ।
उक्त जग्गामा मुद्दा र सार्वजनिक जग्गाको प्रकृति जोडिएको दाबी भइरहेकाले व्यक्तिगत जग्गा कारोबार हो वा सार्वजनिक सम्पत्तिसँग सम्बन्धित विषयमा निजी स्वार्थ स्थापित गर्ने प्रयास हो ? भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुनुपर्ने उनीहरूको माग छ ।
ठाकुरको नाम जोडिएको अर्को विषय जुद्द म्याच उद्योगको जग्गा हो । वीरगञ्जमा उक्त जग्गासम्बन्धी विवादमा ठाकुरले नारायण चिलुवालका छोरीहरूसँग वारेसनामा बनाएर जग्गाको मुद्दा लड्ने योजना बनाएको चर्चा चलेको स्थानीयको भनाइ छ । तर, आदर्शनगरका जग्गाधनीहरूले भने ठाकुरको सम्पूर्ण गतिविधिलाई एउटै अनुसन्धानको दायरामा राखेर हेर्नुपर्ने माग गरेका छन् ।
‘स्काईलाइनको उजुरीमा मात्रै अनुसन्धान नगरियोस्’
आदर्शनगरका जग्गापीडित श्रीलाल रौनियारले ठाकुरसँग जोडिएका वीरगञ्जका सम्पूर्ण विवादित जग्गा कारोबारमाथि छानबिन हुनुपर्ने बताए । ‘ठाकुरको गतिविधि स्काईलाइन महलको एउटा विवादमा मात्र सीमित देखिँदैन । वीरगञ्जमा विवादित जग्गासँग जोडिएका उनका अन्य कारोबार र कागजात पनि अनुसन्धानको विषय बन्नुपर्छ,’ रौनियारले भने ।
उनका अनुसार कुनै एउटा जाहेरीका आधारमा पक्राउ परेपछि अनुसन्धानकर्ताले सम्बन्धित व्यक्तिको कारोबारको पृष्ठभूमि, अन्य विवादित जग्गा, अदालतमा विचाराधीन मुद्दा र त्यस्ता जग्गामा गरिएको करारको प्रकृति समेत हेर्नुपर्ने हुन्छ ।
प्रदीप केडियाको भूमिकामाथि पनि प्रश्न
आदर्शनगरका जग्गाधनी उमेश नेपालले भने विवादित जग्गामा ठाकुरसँगै प्रदीप केडियाको भूमिकामाथि समेत अनुसन्धान हुनुपर्ने बताएका छन् । नेपालका अनुसार कानुनी रूपमा खरिद गरिएको जग्गामा पछि विभिन्न बहाना बनाएर विवाद सिर्जना गर्ने काममा ठाकुर र केडियाको भूमिका रहेको आरोप छ ।
‘कानुनी रूपमा प्रचलनमा नदेखिएको दुषित श्रेस्तालाई आधार बनाएर राज्यका निकायमा सेटिङ गर्दै हिँडेको आरोप लागेका संजय कुमार ठाकुरको पछाडि कसको लगानी छ भन्ने पनि अनुसन्धान हुनुपर्छ,’ नेपालले भने ।
ठाकुरलाई केडिया समूहका प्रदीप केडियाले रकम दिएको भन्ने सूचना आफूले पाएको दाबी गर्दै उनले त्यसको बैंकिङ कारोबार र आर्थिक सम्बन्धसमेत अनुसन्धान हुनुपर्ने बताए । त्यसैले बैंकिङ अभिलेख, कारोबारका कागजात र सम्बन्धित व्यक्तिको बयानबाट मात्रै यसको वास्तविकता खुल्ने देखिन्छ ।
प्रहरी अनुसन्धान अब कुन दिशामा ?
ठाकुरविरुद्ध स्काईलाइन महलसम्बन्धी ठगी तथा आपराधिक लाभ लिन खोजेको आरोपमा जाहेरी परेको र त्यसैका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
प्रहरीले उनलाई अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको थियो । प्रहरीका अनुसार ठाकुरको फाइल मंगलबार नै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउने प्रक्रिया अघि बढाएको प्रहरी स्रोतको भनाइ छ ।
तर, अनुसन्धानकर्तासामु अब मूल प्रश्न भने फराकिलो बनेको छ—ठाकुरविरुद्ध परेको एउटा जाहेरीको तथ्य मात्रै हेर्ने कि उनीसँग जोडिएका विवादित जग्गाको समग्र कारोबारको सञ्जालसम्म पुग्ने ?
निखत परविन अंसारीसँगको १ करोड ६० लाखको करार, जगदीश साह कानूसँगको ७ करोड ५० लाखको मुद्दासहितको जग्गा कारोबार, रेल्वेको भनिएको सार्वजनिक जग्गासँग जोडिएको कारोबार तथा जुद्द म्याच उद्योगको जग्गासम्बन्धी चर्चासम्म अनुसन्धान पुग्ने हो भने ठाकुरको वीरगञ्जस्थित जग्गा कारोबारको वास्तविक तस्वीर बाहिर आउन सक्ने देखिन्छ ।
अझ महत्वपूर्ण कुरा, मुद्दा विचाराधीन रहेको जग्गा खरिदका लागि करार गर्ने, अग्रिम रकम बुझाउने र मुद्दा टुंगिएपछि स्वामित्व हस्तान्तरण गर्ने अभ्यास कानुनी रूपमा कुन अवस्थामा वैध हुन्छ रु त्यस्ता कारोबारमा सार्वजनिक जग्गा जोडिएको भए कसको भूमिका हुन्छ ? र यस्ता कारोबारमा रकमको स्रोत कहाँबाट आएको हो ? भन्ने प्रश्नको जवाफ सम्बन्धित कागजात, बैंकिङ कारोबार, मालपोत अभिलेख र अदालतका मिसिलबाट खोजिनुपर्ने देखिन्छ । साभारः racekhabar.com
जगदीश साह कानू र निखत परविन अंसारीसँग गरेको सम्झौता यस्तो छ



प्रतिक्रिया