श्रेणी : BANNER
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापति प्रकाश साह अभद्र व्यवहारसम्बन्धी आरोपमा पक्राउ परेका छन्।
मनिष गुप्तासहितको जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै साहलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका साहलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
जाहेरीकर्ता गुप्ताले साहले आफूलाई वीरगञ्जको स्थानीय बासिन्दा भन्दै वीरगञ्ज भन्सारबाट आफूले मात्रै माछाको कारोबार गर्ने र अन्य व्यक्तिलाई कारोबार गर्न नदिने किसिमको अभिव्यक्ति दिँदै गालीगलौज तथा अभद्र व्यवहार गरेको आरोप लगाएका छन्। गुप्ताका अनुसार साहले स्थानीय भएको प्रभाव देखाउँदै माछा कारोबारमा अरूलाई रोक लगाउने प्रयास गरेका थिए।
यसैबीच, साह पक्राउ परेपछि उनलाई उन्मुक्ति दिलाउन तथा प्रहरी अनुसन्धानमा प्रभाव पार्न केही बिचौलिया सक्रिय रहेको चर्चा व्यवसायीबीच चल्न थालेको बताइएको छ। माछा, तरकारी तथा फलफूल व्यवसायसँग जोडिएका केही व्यक्तिबीच प्रहरीमाथि आर्थिकदेखि नैतिक दबाब सिर्जना गराएर घटनालाई जसरी पनि टुंग्याउने प्रयासका लागि ठूलो रकम र राजनीतिक दबाव परिचालन हुनसक्ने चर्चा चलेको स्रोतको दाबी छ। यद्यपि, यस्तो रकमको चलखेल वा प्रहरीमाथि दबाब सिर्जना गरिएको विषयमा प्रहरीले भने अहिलेसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
घटनाले प्रहरी अनुसन्धानको निष्पक्षतामाथि समेत चासो बढाएको छ। पर्सा प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी उपरीक्षक पवन भट्टराईले यसअघि प्रहरी सेवा निष्पक्ष र विश्वसनीय बनाउने तथा कानुनले दिएको अधिकार र कर्तव्यको सीमाभित्र रहेर काम गर्ने प्रतिबद्धता सार्वजनिक रूपमा व्यक्त गरेका थिए।
त्यसैले साहविरुद्ध परेको जाहेरीमा हुने अनुसन्धान, सम्भावित दबाब वा प्रभावको प्रयास र त्यसप्रति प्रहरीले लिने कदमलाई अहिले विशेष चासोका साथ हेरिएको छ। अनुसन्धानका क्रममा बाह्य प्रभाव वा दबाबलाई स्थान नदिई तथ्य र प्रमाणका आधारमा प्रक्रिया अघि बढाउन सक्नु पर्सा प्रहरी नेतृत्वका लागि पनि महत्त्वपूर्ण परीक्षण बन्ने देखिन्छ।
पक्राउ परेका साहमाथि लगाइएको आरोप पुष्टि भइनसकेको बताईए पनि भिडियो इत्यादीसहित जाहेरीमा उल्लेख भएका आरोपको वास्तविकता अनुसन्धानबाट खुलेपछि मात्रै कानुनी निष्कर्षमा पुगिने प्रहरीले जनाएको छ। प्रहरीले घटनासँग सम्बन्धित पक्ष, प्रमाण र संलग्न व्यक्तिहरूको भूमिकामाथि अनुसन्धान जारी राखेको छ। साभारः chandrasuryawani.com

प्रतिक्रिया