श्रेणी : BANNER
विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढी रकम हुण्डी कारोबारमा प्रयोग गरेको आरोपमा प्रहरीले विराटनगरका दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ रानीका ४६ वर्षीय शम्भु प्रसाद साह र विराटनगर–१७ का ३४ वर्षीय सुरज प्रसाद साह रहेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरूका बैंक खातामार्फत ठूलो परिमाणमा रकमको कारोबार भएको देखिएको छ । अनुसन्धानका क्रममा दुवै जनाको खातामार्फत कुल एक अर्ब ५७ करोड ६४ लाख ३२ हजार ३ सय ४० रुपैयाँ ८१ पैसा बराबरको रकम हुण्डी कारोबारमा प्रयोग भएको खुलेको प्रहरीको भनाइ छ ।
हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा पक्राउ परेका दुवै जनामाथि सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ । उनीहरूमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ लगायतका कानुनी प्रावधानअनुसार अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीले कारोबारको प्रकृति, रकमको स्रोत तथा अन्य सम्भावित संलग्नताबारे समेत अनुसन्धान जारी राखेको जनाएको छ । साभारःchandrasuryawani.com

प्रतिक्रिया