जनकपुर,३० भदाै । धनुषाको बिदेह नगरपालिकाबाट अपहरणमा परेका १५ महिने बालकलाई प्रहरीले १२ दिनपछि सकुशल उद्धार गरेको छ।
बिदेह नगरपालिका–६ का कमलेश महतोका १५ महिने छोरा सिद्धान्त महतोलाई प्रहरीले बुधबार राति बिदेह नगरपालिका–१ स्थित दशगजा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
बालकलाई छाडेर भाग्न खोजेको अवस्थामा कमला नगरपालिका–९ की पुनितादेवी पासवानलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
प्रहरीका अनुसार भदौ १८ गते बालक अपहरणमा परेको सूचना प्राप्त भएपछि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरी खोजी तथा अनुसन्धान तीव्र पारिएको थियो। अनुसन्धानका क्रममा बालकलाई राखिएको स्थान पहिचान भएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो।
प्रहरी पुगेपछि बालकलाई छाडेर भाग्न खोजेकी पासवानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उद्धार गरिएका बालकलाई आवश्यक स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाइएको छ।
पक्राउ परेकी महिलाविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
बालकलाई कसले, किन र कुन उद्देश्यले अपहरण गरेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया