वीरगन्ज :

सीडीओको अनुगमनमा वीरगञ्जका १२ मध्ये २ पेट्रोल पम्प मात्रै सञ्चालनमा रहेको खुलासा

श्रेणी : BANNER

1 hour
Pradeep Sah
2.0kViews
1333 Shares

वीरगञ्ज, १७ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य उल्लेखनीय रूपमा घटाएलगत्तै वीरगञ्जमा इन्धनको कृत्रिम अभाव गराइएको भन्ने गुनासो बढेपछि पर्सा प्रशासन सक्रिय भएको छ। उपभोक्ताबाट गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी भोला दाहाल नेतृत्वको टोलीले बुधबार विभिन्न पेट्रोल पम्पमा आकस्मिक अनुगमन गरेको हो।

नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलमा प्रतिलिटर ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको थियो। तर मूल्य समायोजन लागू भएको भोलिपल्ट नै वीरगञ्जका अधिकांश निजी पेट्रोल पम्पले ‘पेट्रोल र डिजेल उपलब्ध छैन’ भन्ने सूचना टाँसेर बिक्री बन्द गरेपछि कृत्रिम अभाव सिर्जना गरिएको आशंका चुलिएको थियो।

यही अवस्थालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी दाहाल प्रहरी टोलीसहित बजारमा पुगेका थिए। अनुगमनका क्रममा वीरगञ्जका १२ वटा पेट्रोल पम्पमध्ये मनोज आयल र दुर्गा आयल स्टोर्स मात्रै नियमित रूपमा पेट्रोल र डिजेल बिक्री गरिरहेको भेटिएको उनले जानकारी दिए।

अन्य १० वटा पेट्रोल पम्पका सञ्चालकहरूले भने नेपाल आयल निगमको डिपोबाट मागअनुसार इन्धन आपूर्ति हुन नसकेको र मौज्दात समाप्त भएकाले बिक्री रोक्नुपरेको दाबी गरेका थिए।

अनुगमनपछि प्रमुख जिल्ला अधिकारी दाहालले पेट्रोल पम्प सञ्चालकहरूलाई भविष्यमा इन्धनको मौज्दात व्यवस्थापन व्यवस्थित बनाउन निर्देशन दिएका छन्। उपभोक्तालाई अनावश्यक सास्ती हुने अवस्था दोहोरिन नदिन विशेष ध्यान दिन आग्रह गर्दै उनले निगमबाट नियमित आपूर्ति भइरहेका बेला कृत्रिम अभाव देखाएर सेवा अवरुद्ध गरिए प्रशासनले आवश्यक कारबाही अघि बढाउने स्पष्ट चेतावनी पनि दिएका छन्।

इन्धनको मूल्य घटेपछि बजारमा देखिएको असहज अवस्थाले उपभोक्तामा असन्तुष्टि बढाएको छ भने प्रशासनले बजारको अवस्था निरन्तर निगरानीमा राख्ने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *