वीरगन्ज :

प्रमुख प्रशासकीय अधिकृत नहुँदा मौलापुरका कर्मचारीको तलब रोकियो

श्रेणी : अर्थ

2 hours
Pradeep Sah
2.1kViews
1473 Shares

राैतहट,२९ भदाै । रौतहटको मौलापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेपछि नगरपालिकाको प्रशासनिक कामदेखि विकास निर्माणसम्म प्रभावित भएको छ। प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीले समयमै तलब पाउन नसकेको जनप्रतिनिधिको भनाइ छ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र विकास निर्माणका योजना अघि बढाउनुपर्ने समयमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको हो। असारयता नगरपालिकामा दुई जना प्रमुख प्रशासकीय अधिकृत आए पनि एक जना सरुवा भएर गएका छन् भने अर्काले स्वेच्छिक अवकाश लिएपछि पद रिक्त बनेको हो।

मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाका नियमित प्रशासनिक कामदेखि वडा तहमा हुने सेवासमेत प्रभावित भएको बताइन्।

उनका अनुसार वैशाख ३ गते सुरेशबाबु घिमिरे प्रमुख प्रशासकीय अधिकृतका रूपमा मौलापुर आएका थिए। तर, असार ११ गते काठमाडौं फर्किएपछि उनले उतैबाट सरुवा मिलाएर अन्यत्र गएको मेयर साहको भनाइ छ।

‘दुई महिना यहाँ बस्दा उहाँ करिब २० दिन मात्र कार्यालयमा हाजिर हुनुभयो। बाँकी समय जिल्ला बाहिरै रहनुभयो,’ मेयर साहले भनिन्, ‘उहाँबाट खासै काम हुन सकेन।’

घिमिरे गएपछि करिब एक महिनापछि सामान्य प्रशासन मन्त्रालयले निलम घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा मौलापुर पठाएको थियो। तर, उनले पनि लामो समय जिम्मेवारी सम्हाल्न नसकेको मेयर साहले बताइन्। उनका अनुसार निलम घिमिरेले भदौ १० गते स्वेच्छिक अवकाश लिएको जानकारी आफूले पाएकी छन्।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको बैंक खाता सञ्चालनदेखि दैनिक प्रशासनिक कामसमेत प्रभावित भएको जनप्रतिनिधिको भनाइ छ। निःशुल्क सञ्चालन हुँदै आएको एम्बुलेन्समा समेत इन्धन हाल्न समस्या भएको मेयर साहले बताइन्।

‘प्रमुख प्रशासकीय अधिकृत छैन भन्दैमा जनतालाई दिने सेवा रोक्न त भएन। अहिले पछि मिलाउने भन्दै भनसुनका आधारमा एम्बुलेन्स चलाइरहेका छौँ,’ उनले भनिन्।

मेयर साहका अनुसार प्रमुख प्रशासकीय अधिकृत पठाउन माग गर्दै संघीय मामिला मन्त्रालयमा पटक–पटक पहल गरे पनि समस्या समाधान हुन सकेको छैन। मन्त्रालयमा दिनभर कुरेर बसे पनि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग भेट हुन नसकेको उनले गुनासो गरिन्।

प्रमुख प्रशासकीय अधिकृतको अभावकै कारण गत आर्थिक वर्षमा करिब ४ देखि ५ करोड रुपैयाँ बजेट खर्च हुन नसकी फ्रिज भएको मेयर साहको दाबी छ। अहिले नगरपालिकामा लेखापालसमेत नभएकाले आर्थिक तथा प्रशासनिक काम झनै जटिल बनेको उनको भनाइ छ।

उपमेयर नागेन्द्र साहले पनि दुई महिनाको अवधिमा दुई जना प्रमुख प्रशासकीय अधिकृत आए पनि लामो समय जिम्मेवारी सम्हाल्न नसकेको बताए।

उनका अनुसार नगरपालिकाका कर्मचारीले असारसम्मको मात्र तलबभत्ता पाएका छन्। दसैँ–तिहारजस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा समयमै बैंक खाता सञ्चालन हुन नसके कर्मचारीको तलबभत्ता थप रोकिने अवस्था आउन सक्ने उनको भनाइ छ।

‘कर्मचारीहरूले असारसम्मको तलबभत्ता मात्र पाएका छन्। प्रमुख प्रशासकीय अधिकृत नहुँदा खाता सञ्चालन हुन सकेको छैन। समयमै समस्या समाधान भएन भने चाडपर्वको समयमा कर्मचारीको तलबभत्ता रोकिँदा त्यसको समस्या हामीले बेहोर्नुपर्छ,’ उपमेयर साहले भने।

जनप्रतिनिधिहरूले समेत चैतयता पाउनुपर्ने सेवासुविधा प्राप्त गर्न नसकेको उनले बताए। प्रमुख प्रशासकीय अधिकृत तत्काल पठाइदिन माग गर्दै मन्त्रालय पुगे पनि सुनुवाइ नभएको उनको गुनासो छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *