वीरगन्ज :

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

श्रेणी : BANNER

38 minutes
Pradeep Sah
3.0kViews
1134 Shares

सिरहा,३१ भदाै । सिरहामा प्रहरीले एम्बुलेन्सबाट १०५ किलो लागूऔषध गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा प्रयोग भएको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार भएका छन्।

प्रहरीका अनुसार ज १ च १२१३ नम्बरको एम्बुलेन्स सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डबाट नियन्त्रणमा लिइएको हो।

चोहर्वाबाट सिरहातर्फ एम्बुलेन्समा गाँजा ल्याइँदै गरेको गोप्य सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले एम्बुलेन्सलाई पछ्याउँदै जाने क्रममा सिरहा नगरपालिका–१ पुगेपछि चालकले सवारीसाधन सडकमा छाडेर फरार भएको जनाएको छ।

एम्बुलेन्सको जाँच गर्दा पाँचवटा जुटका बोरामा लुकाएर राखिएको १०५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। बरामद गाँजा र एम्बुलेन्सलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक नरेश लिम्बूका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। नियन्त्रणमा लिइएको एम्बुलेन्सको धनी र फरार चालकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले फरार चालकको खोजी गर्नुका साथै गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ लैजाने तयारी गरिएको थियो भन्ने विषयमा समेत अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *