
श्रेणी : अपराध
हेटौंडा,१८ वैशाख । हेटौंडा उपमहानगरपालिका–१६ निवासी ३७ वर्षीय मिलन दंगालको हत्यासम्बन्धी घटनामा संलग्न रहेको आरोपमा दुई युवक पुर्पक्ष थुनामा पठाइएका छन् भने एक बालिकालाई बालसुधार गृहमा राखिने आदेश दिइएको छ। घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका अन्य तीन बालिका भने अदालतको आदेश अनुसार अभिभावकको जिम्मामा दिइएको छ।
जिल्ला अदालत मकवानपुरका न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले बुधबारको फैसलामा बकैया गाउँपालिका–३ का ३६ वर्षीय प्रशान्त लामा (पूर्णबहादुर भ्लोन) र हेटौंडा–१६ का २८ वर्षीय सुजन पौडेललाई पुर्पक्षका लागि भीमफेदी कारागार पठाउने आदेश दिएको हो। साथै, बारा निजगढ नगरपालिका–३ की एक बालिकालाई भक्तपुरस्थित बालसुधार गृहमा पठाउन आदेश दिइएको छ।
त्यस्तै, ललितपुर गोदावरी नगरपालिका–१२ का २४ वर्षीय किसन दानीलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्दै तारेखमा राखिएको छ। बाँकी तीन बालिकालाई अदालतले आवश्यकता परे उपस्थित गराउने सर्तमा अभिभावकको जिम्मा दिएको हो।
घटनाको पृष्ठभूमिमा, चैत २० गते बिहान मकवानपुरको बागमती गाउँपालिका–८ स्थित हेटौंडा–धरान चतरा सडकखण्डको नालामा दंगालको शव फेला परेको थियो। यस घटनामा प्रहरीले चार बालिका र तीन युवक गरी सात जनालाई पक्राउ गरेको थियो।


प्रतिक्रिया