श्रेणी : मधेस
बीरगन्ज,०९ माघ । बीरगन्ज महानगरपालिकाले लामखुट्टेको प्रकोप नियन्त्रण र वर्षायाममा पानीको सहज बहाव सुनिश्चित गर्न साना तथा ठूला नालाहरूको सफाइ तीव्र रूपमा अगाडि बढाएको छ।
महानगरको साझेदार संस्था एके इन्टरनेशनलमार्फत वडा नं. १ देखि ३२ सम्मका साना नालाहरू सफा गर्ने कार्य भइरहेको छ। ठूला, १० फिटे नालाहरूको सफाइ महानगरको सरसफाइ महाशाखाले गरिरहेको छ। सरसफाइ महाशाखाका प्रमुख सर्फुद्दीन मियाँका अनुसार, साना नालाहरूको सफाइ पहिलो चरणमा वडा नं. १ देखि १६ सम्म भइरहेको छ।
एके इन्टरनेशनलका शिव गुप्ताले सफाइका क्रममा नालामा माटोको मात्रा बढी रहेको र नाला निर्माणका क्रममा प्रयोग गरिएका काठ हटाइन नसक्दा जाम भएको पाइएको बताए। सफाइका क्रममा धेरै काठ निकालिएको छ।
महानगरका ८० प्रतिशतभन्दा बढी साना नालाहरू माटोले पुरिएको अवस्थामा रहेकोले सफाइका लागि मानिस र एक्साभेटरको प्रयोग भइरहेको छ। महानगरले ३२ वटै वडाका साना नालाहरूको सफाइ कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ।
ठूला नालाहरूको सफाइ कार्य जिल्ला प्रशासन कार्यालय, पर्सादेखि श्रीसिया नदीसम्म भइरहेको छ। एक्साभेटर पुग्न सक्ने ठाउँमा मेसिनबाट र अन्य ठाउँमा मानिस परिचालन गरेर सफाइ कार्य अघि बढाइएको छ।
लामखुट्टेको प्रकोप न्यूनीकरण र वर्षायाममा पानीको बहाव अवरुद्ध हुन नदिन यस कार्यलाई प्राथमिकता दिइएको सरसफाइ प्रमुख मियाँले बताए।
प्रतिक्रिया