वीरगन्ज :

बीरगन्जमा जारी जय ट्रफी क्रिकेट: आर्मी र पुलिसबीचको खेल रोमाञ्चक बराबरीमा टुंगियो

श्रेणी : खेलकुद

1 month
Pradeep Sah
2.2kViews
1692 Shares

बीरगन्ज, २२ पुस ।  बीरगन्जको नारायणी क्रिकेट मैदानमा जारी जय ट्रफी मेन्स एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको पहिलो खेल बराबरीमा टुंगिएको छ।

दुई दिवसीय खेलमा आर्मीले पुलिसलाई जितका लागि १७२ रनको लक्ष्य दिएको थियो। तर, पुलिसले दोस्रो इनिङ्समा ४२ ओभरमा ५ विकेट गुमाउँदै ८८ रनमात्र बनाउन सकेपछि खेल बराबरी भयो। यससँगै पुलिसले १५ र आर्मीले १४ अंक हात पारेको पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए।

दोस्रो इनिङ्समा आर्मीका सोमपाल कामीले अविजित ८२ रन बनाए, जसमा १० चौका र १ छक्का समावेश थियो। आर्मीका बलर साहब आलमले पहिलो इनिङ्समा ८ विकेट लिए भने दोस्रो इनिङ्समा २ विकेट थपे। पुलिसका बलर कुशल भुर्तेलले ४ विकेट लिए।

पुलिसका ब्याट्सम्यान अमित श्रेष्ठले दोस्रो इनिङ्समा सर्वाधिक ३६ रन बनाए। यस्तै, अर्जुन साउदले १९ रन योगदान गरे। पहिलो इनिङ्समा पुलिसका गुलशन झाले ४७ रन बनाएर उत्कृष्ट प्रदर्शन गरेका थिए।

जय ट्रफी मेन्स एलिट कपमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मधेस प्रदेश, र बागमती प्रदेश सहभागी छन्। सिंगल राउण्ड रोबिनको आधारमा हुने ६ खेलपछि शीर्ष दुई टोलीबीच माघ ३ गते तीनदिवसीय फाइनल खेल हुनेछ।

बुधबार मधेस प्रदेश र पुलिस क्लब तथा बागमती प्रदेश र आर्मी क्लबबीच खेल हुने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा रेड बल र ह्वाइट जर्सी प्रयोग भइरहेको छ, जसले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *