
श्रेणी : BANNER
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा कौडीको भाउमा भारतलाई दुई वटा नदी बेचेको आरोप लगाएका छन् ।
नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले तल्लो अरुण र फुकोट कर्णाली बेचेको आरोप लगाएका हुन् ।
उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले देशका बारेमा चुइँक्क बोल्न नसकेको आरोप लगाए । उनले भने, ‘भारत भ्रमणमा के गरेर आउनु भयो त ? दुई वटा नदी तल्लो अरुण कौडीको मोलमा दिनुभएको छ । फुकोट कर्णालीजस्तो सस्तो आयोजना आफैं बनाउने भनेर मैले २०७६ मा निर्णय गरेको थिएँ। अहिले त प्रधानमन्त्रीले किस्तीमा राखेर उतै सुम्पिनुभएको छ। के शर्तमा दिइएको प्रधानमन्त्री भन्न सक्नुहुन्न। नेपाली जनतालाई थाहा छैन कुन कुन नदी कस्तो अवस्था गएका छन्।’
उनले यतिबेला नेपालको दशा बिग्रिएको बताए । उनले भने, ‘नेपालको दशा बिग्रिएकै हो। नेपालमा दुरदीन छाएकै हो। नेपाली भूमिमा ग्रहण लागेकै हो। यस्ता यस्ता सरकार बनेका छन् जसले देशको बारेमा चुइँक्क बोल्न सक्दैन।’

प्रतिक्रिया