वीरगन्ज :

सुपारी दिएर हत्या गराएको रहस्य खुल्यो, दुई मुख्य आरोपी समातिए

श्रेणी : BANNER

1 hour
Pradeep Sah
2.9kViews
1053 Shares
सिरहा,२९ वैशाख । सिरहामा गोली प्रहार गरी हत्या तथा ज्यान मार्ने प्रयासका दुई गम्भीर घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले लामो अनुसन्धानपछि घटनाका योजनाकारहरूलाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार माघ १६ गते सिरहा नगरपालिका–७ स्थित बाँसघारीमा ४२ वर्षीय प्रेमनाथ यादवको गोली हानी हत्या गरिएको घटनामा मृतककै छिमेकी तथा पूर्वशिक्षक ५२ वर्षीय उपेन्द्र यादव पक्राउ परेका छन्।

प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवाद र पुरानो रिसइबीका कारण उनले भारतीय अपराधीमार्फत हत्या गराउन ३ लाख रुपैयाँको सुपारी दिएको खुलेको प्रहरीले जनाएको छ। त्यसमध्ये १ लाख रुपैयाँ अग्रिम भुक्तानी गरिएको र बाँकी रकम पछि दिने सहमति भएको बताइएको छ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले सीडीआर विश्लेषण, बीटीएस ट्र्याकिङ, शंकास्पद व्यक्तिमाथि सोधपुछ तथा पोलिग्राफ परीक्षण समेत गरेको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र भारतीय प्रहरीको सहयोगमा भारतीय सुटरको संलग्नता पुष्टि भएको प्रहरीको भनाइ छ।

पक्राउ परेका उपेन्द्र यादवले घटनामा आफ्नो भूमिका स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य भारतीय नागरिकको खोजी जारी रहेको छ।

यस्तै, माघ ४ गते औरही गाउँपालिका–५ स्थित जितिया मन्दिरका पुजारी श्यामसुन्दर शर्मामाथि गोली प्रहार गरिएको घटनामा पनि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार स्थानीय ५५ वर्षीय हरि ठाकुरले व्यक्तिगत रिसइबीका कारण भारतीय सुटर प्रयोग गरी पुजारीमाथि आक्रमण गराएका हुन्। उनले ५० हजार रुपैयाँ दिएर ज्यान मार्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले दुवै घटनामा थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *