वीरगन्ज :

शिक्षकको मर्यादाक्रम कानुनमै तोक्ने पहिलो पालिका बन्यो जितपुरसिमरा

श्रेणी : मधेस

57 minutes
Pradeep Sah
1.7kViews
1650 Shares

बारा,२० साउन । जितपुरसिमरा उपमहानगरपालिकाले शिक्षकहरूको मर्यादाक्रमलाई स्थानीय कानुनमै समेटेर कार्यान्वयनमा ल्याएको छ। शिक्षकको औपचारिक मर्यादाक्रम कानुनमै निर्धारण गर्ने जितपुरसिमरा देशकै पहिलो स्थानीय तह बनेको उपमहानगरपालिकाको दाबी छ।

उपमहानगरपालिकाको शिक्षा ऐन, २०७५ को पहिलो संशोधन, २०८० को दफा २४ मा शिक्षकहरूको तह, श्रेणी र जिम्मेवारीका आधारमा मर्यादाक्रम निर्धारण गरिएको छ।

नगर प्रमुख राजन पौडेलका अनुसार संविधानले स्थानीय तहलाई विद्यालय शिक्षासम्बन्धी अधिकार प्रदान गरेकाले सोही अधिकार प्रयोग गर्दै शिक्षकको सम्मान र सामाजिक प्रतिष्ठालाई संस्थागत गर्न ऐनमै मर्यादाक्रमको व्यवस्था गरिएको हो।

उनले शिक्षकले ज्ञान र शिक्षाको माध्यमबाट समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले उनीहरूको सम्मानलाई कानुनी रूपमा स्थापित गर्न आवश्यक रहेको बताए।

ऐनअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षक तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई स्थानीय औपचारिक कार्यक्रममा निजामती सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी अर्थात् उपसचिवसरहको मर्यादा दिइएको छ।

त्यस्तै, माध्यमिक तह द्वितीय श्रेणी तथा आधारभूत तह प्रथम श्रेणीका शिक्षकलाई शाखा अधिकृतसरह, माध्यमिक तह तृतीय श्रेणी तथा आधारभूत तह द्वितीय श्रेणीका शिक्षकलाई नायब सुब्बासरह र आधारभूत तह तृतीय श्रेणीका शिक्षकलाई खरिदारसरहको मर्यादा निर्धारण गरिएको छ।

प्रधानाध्यापकको जिम्मेवारीमा रहेका शिक्षकलाई सम्बन्धित तहअनुसार मर्यादामा प्राथमिकता दिने व्यवस्था पनि ऐनमा गरिएको छ। संस्थागत विद्यालयका शिक्षकलाई समेत उनीहरूको योग्यता र तहका आधारमा मर्यादाक्रममा समायोजन गर्ने व्यवस्था रहेको उपमहानगरपालिकाले जनाएको छ।

अब उपमहानगरपालिका, वडा तथा स्थानीय तहका औपचारिक सभा, समारोह र सार्वजनिक कार्यक्रममा शिक्षकहरूले ऐनले तोकेको मर्यादाक्रमअनुसार आसन तथा आतिथ्यता पाउनेछन्।

नगर प्रमुख पौडेलले यस्तो व्यवस्थाले शिक्षण पेसाप्रतिको सम्मान बढाउनुका साथै शिक्षकको मनोबल उच्च बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नेपालको संविधानको अनुसूची–८ ले आधारभूत तथा माध्यमिक शिक्षालाई स्थानीय तहको एकल अधिकारको सूचीमा राखेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले पनि स्थानीय तहलाई विद्यालय शिक्षा सञ्चालन, व्यवस्थापन, नियमन तथा आवश्यक कानुन निर्माण गर्ने अधिकार दिएको छ। यही अधिकार प्रयोग गर्दै जितपुरसिमराले शिक्षकको मर्यादाक्रमलाई स्थानीय शिक्षा ऐनमै समेटेको हो।

यसअघि शिक्षकको नियुक्ति, सेवा–सुविधा र व्यवस्थापनसम्बन्धी विषय कानुनमा उल्लेख भए पनि स्थानीय तहका औपचारिक कार्यक्रम तथा समारोहमा शिक्षकको मर्यादाक्रमबारे स्पष्ट व्यवस्था नहुँदा अन्योल रहने गरेको थियो।

जितपुरसिमराको यो निर्णयलाई शिक्षक समुदायले समेत सकारात्मक रूपमा लिएको छ। शिक्षकहरूले लामो समयदेखि उठाउँदै आएका मागमध्ये मर्यादाक्रम निर्धारणको विषय स्थानीय कानुनमार्फत कार्यान्वयनमा आउनु महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएका छन्।

उपमहानगरपालिकाले यो व्यवस्थाले शिक्षकको सामाजिक प्रतिष्ठा अभिवृद्धि, शिक्षण पेसाप्रति आकर्षण र शैक्षिक सुशासन मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।

जितपुरसिमराको अभ्यास अन्य स्थानीय तहका लागि समेत नीतिगत उदाहरण बन्न सक्ने देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *