श्रेणी : BANNER
वीरगंज (पर्सा), १७ असार । वीरगञ्जका सडकमा साइकलमा आँप बेच्दै हिँड्ने एक भारतीय नागरिक लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाका आधारमा निगरानी बढाउँदै कारबाही गर्दा ठूलो परिमाणमा ब्राउन सुगर बरामद भएको जनाएको छ।
पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्य, बेतिया थाना अन्तर्गत गोपालपुर ग्राम पञ्चायत–२ निवासी ३० वर्षीय गुड्डु आलम हुन्। उनी हाल वीरगञ्ज महानगरपालिका–८ मा डेरा गरी बस्दै आएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार वीरगञ्ज–९ स्थित सडकपेटीमा आँप बिक्री गर्दै लागूऔषधको समेत कारोबार भइरहेको भन्ने गोप्य सूचनापछि वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक विक्रम सुबेदीको नेतृत्वमा टोली परिचालन गरिएको थियो।
प्रहरीले आलममाथि निगरानीपछि खानतलासी गर्दा उनले प्रयोग गरिरहेको साइकलको पछाडिको चक्कानजिक प्लास्टिकको बोराभित्र लुकाएर राखिएको २७ ग्राम २९० मिलिग्राम ब्राउन सुगर फेला पारेको जनाएको छ। बरामद लागूऔषध तत्कालै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले आलमलाई लागूऔषधसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको छ। घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया