श्रेणी : BANNER
वीरगंज (पर्सा), १ जेठ । यातायात व्यवस्था कार्यालय वीरगञ्ज तथा यातायात व्यवस्था कार्यालय कलैयामा फर्जी लाइसेन्स नियन्त्रणका लागि केही समयअघि कडाइका साथ सुरु गरिएको निगरानी प्रणाली फेरि कमजोर बनेको भन्दै सेवाग्राहीहरूले गम्भीर प्रश्न उठाएका छन्। बाहिरबाट नियन्त्रण भएको देखिए पनि भित्री रूपमा पुरानै ‘सेटिङ’ फेरि चल्न थालेको उनीहरूको आरोप छ।
स्थानीय स्रोतका अनुसार लिखित र ट्रायल परीक्षा प्रक्रियालाई औपचारिकतामा सीमित बनाइएको छ। सीमित व्यक्तिलाई लक्षित गरेर पटक–पटक परीक्षा सञ्चालन गर्ने, एक दिन लिखित र अर्को दिन ट्रायल गराउने शैलीमा बिचौलियामार्फत काम अघि बढाउने गरिएको दाबी गरिएको छ। यसरी निश्चित व्यक्तिलाई पास गराउने व्यवस्था मिलाइएको आरोप सेवाग्राहीहरूको छ।
वीरगंज कार्यालयमा केही कर्मचारीसँग मिलेमतो गरी बिचौलियामार्फत चार वटा मोटरसाइकल लाइसेन्स बनाउने प्रक्रिया अघि बढाइएको आरोपसमेत सार्वजनिक भएको छ। ट्रायल प्रमुख रामसुन्दर महतो निकटका व्यक्तिहरूको संलग्नतामा उक्त काम भइरहेको स्रोतको भनाइ छ।
यसअघि सोही कार्यालयमा ट्रायल र लिखित परीक्षासम्बन्धी गतिविधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेपछि अनियमित आर्थिक कारोबार रोकिएको थियो। तर हाल निगरानी फितलो बनेसँगै पुनः अनियमितता मौलाएको सेवाग्राहीहरूको दाबी छ।
सेवाग्राहीहरूले वीरगञ्ज कार्यालय प्रमुख कुशेश्वर साहमाथि पनि आरोप लगाएका छन्। कार्यालयभित्र बिचौलियाको प्रयोग गरी फर्म भर्ने, लिखित परीक्षा पास गराउने तथा ट्रायलमा असफल भएकाहरूको भिडियो सम्पादन गरेर पास देखाउने काम हुने गरेको उनीहरूको भनाइ छ।
उता कलैयास्थित कार्यालयमा पर्याप्त सिसिटिभी निगरानी नहुँदा विशेषगरी ट्र्याक्टर चालकको लाइसेन्स वितरणमा अनियमितता बढेको स्थानीय स्रोतले बताएका छन्। त्यहाँका कार्यालय प्रमुख चिन्तन आचार्यमाथि पनि बिचौलियामार्फत फर्म भर्ने, परीक्षा पास गराउने तथा असफललाई पास देखाउने गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ।
स्थानीयवासीहरूले दुवै कार्यालयको ट्रायल प्रणाली पूर्ण रूपमा डिजिटल निगरानीमा ल्याउन, लाइभ स्ट्रिमिङमार्फत परीक्षण सञ्चालन गर्न तथा बिचौलिया नियन्त्रणका लागि तत्काल कडा कदम चाल्न माग गरेका छन्।


प्रतिक्रिया