वीरगन्ज :

वीरगंजका क्यासिनोमा प्रहरीको छापाः जुवातास खेल्दै ६ जना पक्राउ, प्रहरी-क्यासिनो मिलेमतोमाथि प्रश्न !

श्रेणी : BANNER

8 hours
Pradeep Sah
2.5kViews
1715 Shares

वीरगंज (पर्सा), २७ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंजस्थित विभिन्न क्यासिनोमा छापामारी गर्दै जुवातास खेलिरहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । नेपाली नागरिकहरूलाई अनाधिकृत रूपमा क्यासिनो प्रवेश गराई जुवा खेलाउने कार्य भइरहेको गुनासो उच्च तहसम्म पुगेपछि प्रहरीले विशेष अपरेशन सञ्चालन गरेको स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार राति करिब ११ः४० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त टोलीले वीरगंजका चार वटा क्यासिनोमा एकसाथ छापा मारेको हो । छापामारीका क्रममा किङ क्यासिनो, फर्च्युन सिटी गेमिङ क्लब्स र क्यासिनो माहजोङ लगायतका क्यासिनोबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा भारतको बिहार घर बताउने २६ वर्षीय गणेश कुमार, ३८ वर्षीय संदिप कुमार, ३१ वर्षीय सुरज प्रसाद, ४३ वर्षीय अल्लाह यादव, ३६ वर्षीय ओमप्रकाश यादव तथा वीरगंज महानगरपालिका–३२ निवासी ३७ वर्षीय जमुदिन मियाँ अन्सारी रहेका छन् । उनीहरूको साथबाट प्रहरीले ५ सय रुपैयाँ बराबरका क्वाइन, नेपाली रुपैयाँ ५ सय ५५, भारतीय रुपैयाँ १ हजार २ सय र दुई थान मोबाइल फोन बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ । वीरगंजमा सञ्चालित अधिकांश क्यासिनोमा नेपाली नागरिकको खुला प्रवेश हुँदै आएको आरोप स्थानीयले लगाउँदै आएका छन् । प्रहरीकै संरक्षण र मिलेमतोका कारण यस्तो गतिविधि नियन्त्रण हुन नसकेको गुनासोसमेत बढ्दै गएको बताइएको छ ।

स्रोतका अनुसार क्यासिनोमा नेपाली नागरिक प्रवेश गराई जुवा खेलाउने विषयमा काठमाडौंसम्म गुनासो पुगेपछि तथा गृह मन्त्रालयबाट कडा निर्देशन आएपछि प्रहरीले अचानक छापामारी गरेको हो । स्थानीयवासीका अनुसार क्यासिनोहरूमा मनोरञ्जनको नाममा युवती नचाउने, रातभर जुवातास सञ्चालन गर्ने तथा युवाहरूलाई आकर्षित गर्ने गतिविधि तीव्र बन्दै गएको छ । यसको प्रत्यक्ष असर वीरगंजका लक्ष्मनवा, पिपरा र नगवा क्षेत्रका सयौँ युवामा परेको दाबी गरिएको छ । जुवाको कुलतका कारण धेरै युवा आर्थिक संकटमा फस्दै गएको स्थानीयको भनाइ छ ।

कतिपय नेपालीहरूले नक्कली भारतीय आधार कार्ड प्रयोग गरेर क्यासिनो प्रवेश गर्ने गरेको आरोपसमेत स्थानीयले लगाएका छन् । यस्ता गतिविधिबारे प्रहरी र क्यासिनो प्रशासन जानकार हुँदाहुँदै प्रभावकारी नियन्त्रण हुन नसकेको भन्दै स्थानीयले कडा निगरानी र निष्पक्ष कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *