
रौतहट,०४ असार । रौतहटको फतुवा विजयपुर नगरपालिका–६ मोतिपुर टोलमा अज्ञात समूहले सुरुङ खनेर तीन घरमा प्रवेश गरी नगद तथा सुनचाँदीका गहना चोरी गरेको छ।
बुधबार राति स्थानीय रामप्रसाद यादव, तेजनारायण यादव र गजेन्द्र सहनीको घरमा चोरहरूले पालैपालो सुरुङमार्फत प्रवेश गरी चोरी गरेको प्रहरीले जनाएको छ। घरका सदस्यहरू सुतिरहेको अवस्थामा घटना भएको हो।
रामप्रसाद यादवको घरबाट ट्रङ्कमा राखिएको नगद २ लाख ८० हजार रुपैयाँ तथा करिब २ लाख ४० हजार रुपैयाँ बराबरको सुनको मंगलसूत्र र हनुमानी चोरी भएको छ। त्यस्तै तेजनारायण यादवको घरबाट करिब २० हजार रुपैयाँ बराबरका तीन थान चाँदीका बालबालिकाले लगाउने बाला चोरी भएको बताइएको छ।
गजेन्द्र सहनीको घरमा पनि चोरहरू प्रवेश गरे पनि कुनै सामान भने चोरी नभएको स्थानीयले बताएका छन्। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय विजयपुरको टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानमा ताला नतोडिएको अवस्थामा भेटिएकाले नक्कली चाबी प्रयोग गरिएको हुनसक्ने अनुमान गरिएको छ।
स्थानीय वडा अध्यक्ष रामएकवाल यादवका अनुसार चोरहरू व्यावसायिक समूह हुनसक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया