वीरगन्ज :

रवि लामिछानेसँग प्रतिस्पर्धा गर्ने आकांक्षा, पार्टीभित्रै किनारामा परे नेता

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.1kViews
1443 Shares

काठमाडौं, ९ असार ।  वैकल्पिक राजनीति, विधिको शासन र आन्तरिक लोकतन्त्रको नारा बोकेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो पहिलो महाधिवेशनमा व्यस्त छ। तर महाधिवेशनकै पूर्वसन्ध्यामा देखिएको एउटा घटनाले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र नेतृत्वको कार्यशैलीमाथि गम्भीर बहस सुरु गराएको छ।

पार्टी सभापति रवि लामिछानेविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका मधेश प्रदेश अन्तर्गत बारा क्षेत्र नम्बर–३ का निर्वाचित क्षेत्रीय सभापति भोला साह कानु (अभिषेक गुप्ता) महाधिवेशन प्रतिनिधिको अन्तिम सूचीबाट हटाइएपछि विवाद चर्किएको हो। यस घटनाले पार्टीभित्र फरक मत राख्नेहरूको स्थान र अधिकारबारे प्रश्न उठाएको छ।

जानकारीअनुसार आइतबार साँझ सार्वजनिक गरिएको प्रारम्भिक प्रतिनिधि सूचीमा कानुको नाम समावेश थियो। तर उनले सामाजिक सञ्जालमार्फत सभापति पदमा रवि लामिछानेसँग प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि मध्यराततिर प्रकाशित अन्तिम सूचीमा उनको नाम हटाइएको थियो।

कानुले यस कदमलाई नियोजित रूपमा गरिएको लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेपको संज्ञा दिएका छन्। उनले सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दा बारा जिल्लाका पूर्वसभापति चन्दन स्वर्णकारको साधारण सदस्यता पुनर्बहाली गराउने विषयलाई मुख्य एजेन्डा बनाएका थिए।

स्मरण रहोस्, गत जेठ ६ गते रास्वपाको संगठन विभागले तत्कालीन जिल्ला सभापति स्वर्णकारलाई आर्थिक अनियमितता र अनुशासन उल्लंघनको आरोप लगाउँदै पार्टीबाट निष्कासन गरेको थियो। तर उक्त कारबाही निष्पक्ष अनुसन्धानबिना गरिएको भन्दै बारा जिल्लामा लामो समयदेखि असन्तुष्टि बढ्दै आएको थियो। यही विवादको प्रभाव जिल्ला अधिवेशनका क्रममा भएको झडप र तनावमा समेत देखिएको थियो।

यता रास्वपाले भने कानुको नाम प्रतिनिधि सूचीबाट हटाइनुलाई अनुशासन र प्राविधिक प्रक्रियासँग सम्बन्धित विषय भएको जनाएको छ। पार्टी नेतृत्वको भनाइमा कानुले अघि सारेको एजेन्डा र उम्मेदवारीको शैली संगठनको हितविपरीत देखिएकाले निर्वाचन समिति र अनुशासन समितिले आवश्यक निर्णय लिएको हो। साथै उनीमाथि थप कारबाही हुन सक्ने संकेतसमेत पार्टीले गरेको छ।

रास्वपाका सहमहामन्त्री तथा बारा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य गणेश धिमालले पनि यो विषय निर्वाचन समितिको क्षेत्राधिकारभित्र पर्ने बताएका छन्। उनका अनुसार कानुविरुद्ध तीन महिनाअघि नै कारबाहीको सिफारिस भइसकेको थियो र उनको राजनीतिक पृष्ठभूमि विवादरहित नरहेको दाबी गरेका छन्। धिमालले सभापति रवि लामिछानेविरुद्ध उम्मेदवारी दिन आवश्यक राजनीतिक हैसियतसमेत कानुसँग नरहेको टिप्पणी गरेका छन्।

तर आलोचकहरूले भने यदि कानुविरुद्ध कारबाहीको सिफारिस महिनौँअघि नै भएको थियो भने प्रारम्भिक प्रतिनिधि सूचीमा उनको नाम कसरी समावेश भयो भन्ने प्रश्न उठाएका छन्। उम्मेदवारी घोषणा गरेलगत्तै मात्रै उनी अयोग्य ठहरिनुले निर्णयको नियतमाथि आशंका पैदा गरेको उनीहरूको तर्क छ।

राजनीतिक विश्लेषकहरूको एकथरी मतअनुसार लोकतान्त्रिक प्रणालीमा कसको कति हैसियत छ भन्ने निर्धारण निर्वाचन प्रक्रियाले गर्छ, नेतृत्वको व्यक्तिगत मूल्यांकनले होइन। त्यसैले फरक मत र प्रतिस्पर्धालाई कसरी व्यवस्थापन गरिन्छ भन्ने विषयले पार्टीको लोकतान्त्रिक चरित्र निर्धारण गर्ने उनीहरूको भनाइ छ।

चन्दन स्वर्णकारको निष्कासन, त्यसपछि देखिएको जिल्ला स्तरको विवाद, अधिवेशनका क्रममा भएको झडप तथा अहिले भोला साह कानुको प्रतिनिधि अधिकार खोसिएको घटनाले मधेश प्रदेशमा रास्वपाको संगठनभित्र असन्तुष्टि बढिरहेको संकेत गरेको छ।

परम्परागत दलहरूमा नेतृत्वको आलोचना गर्दा किनारा लगाइने प्रवृत्तिबाट निराश बनेका धेरै नागरिकले रास्वपालाई वैकल्पिक शक्तिका रूपमा हेरेका थिए। तर आफ्नै पहिलो महाधिवेशनमा नेतृत्वलाई चुनौती दिन खोज्ने कार्यकर्ताको प्रतिनिधित्वमाथि प्रश्न उठ्ने गरी भएको यो घटनाले पार्टीको लोकतान्त्रिक छविमाथि बहस चर्काएको छ। महाधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया अघि बढे पनि यस घटनाले रास्वपाको आन्तरिक लोकतन्त्रबारे गम्भीर प्रश्न भने छाडेको छ। साभारः reportersnepal.com

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *