श्रेणी : मधेस

बीरगन्ज,०१ असार । नेपाल–भारत सीमापार पर्यटन प्रवर्द्धन र मधेस प्रदेशका पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित आयोजित मधेस ट्राभल मार्ट २०२६ सम्पन्न भएको छ।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले मधेस प्रदेशका आठै जिल्लामा रहेका पर्यटकीय सम्भावनालाई भारतीय पर्यटन बजारसम्म पुर्याउने लक्ष्यसहित कार्यक्रम गरिएको बताए।
बीरगन्जमा आयोजित उद्घाटन कार्यक्रममा उनले नेपाल–भारत खुला सीमा, साझा धार्मिक–सांस्कृतिक सम्पदा र जनस्तरको सम्बन्धलाई पर्यटन विकासको प्रमुख आधारका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए। उनका अनुसार यस्ता कार्यक्रमले भारतबाट आउने पर्यटकको संख्या वृद्धि गर्न सहयोग पुर्याउनेछ।
कार्यक्रममा बोल्दै उनले भारत लक्षित क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि पूर्वदेखि पश्चिमसम्म विभिन्न ट्राभल मार्ट सञ्चालन भइरहेको जानकारी पनि दिए।नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराई का अनुसार मार्टले मधेस प्रदेशलाई नेपालको प्रमुख पर्यटन प्रवेशद्वारका रूपमा स्थापित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
जुन १२ देखि १४ सम्म बीरगन्ज, जितपुरसिमरा र जनकपुरधामलगायत स्थानमा सञ्चालन भएको कार्यक्रममा नेपाली तथा भारतीय पर्यटन व्यवसायीबीच बीटुबी (Business to Business) छलफल, प्यानल बहस, नेटवर्किङ तथा प्रमुख गन्तव्यहरूको परिचयात्मक भ्रमण गरिएको थियो।
कार्यक्रममा भारतबाट करिब ५५ जना पर्यटन व्यवसायी तथा सञ्चारकर्मी सहभागी थिए भने नेपालका विभिन्न प्रदेशका करिब २५ पर्यटन व्यवसायी, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल ले सीमावर्ती क्षेत्रको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। त्यस्तै, भारतीय महावाणिज्य दूतावासका प्रमुख देवीसहाय मीणा तथा पर्यटन क्षेत्रका अन्य सरोकारवालाहरूले पनि सीमापार पर्यटन सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।
आयोजकका अनुसार मार्टले नेपाल–भारत पर्यटन व्यवसायीबीच सम्बन्ध विस्तार गर्दै नयाँ प्याकेज निर्माण र लगानीका अवसर पहिचान गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।


प्रतिक्रिया