बीरगन्ज,२४ साउन । पर्साको राष्ट्रिय वन क्षेत्रबाट अवैध रूपमा गिट्टी–बालुवा उत्खनन गरी बीरगन्जतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी बढनिहारबाट खटिएको टोलीले पर्सागढी नगरपालिका–३, बढनियारस्थित सडकखण्डबाट प्र.२–०३–००१ त ६१३७ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पर्सागढी नगरपालिका अन्तर्गत पर्ने करजनिया क्षेत्रको राष्ट्रिय वनबाट अवैध रूपमा गिट्टी–बालुवा उत्खनन गरी चोरी–तस्करी भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। सोही क्रममा वन क्षेत्रबाट उत्खनन गरिएको गिट्टी–बालुवा बोकेर वीरगन्जतर्फ जाँदै गरेको ट्र्याक्टर फेला पारी नियन्त्रणमा लिइएको हो।
ट्र्याक्टर चालकको नाम भने प्रहरीले तत्काल सार्वजनिक गरेको छैन। अनुसन्धान प्रक्रिया जारी रहेकाले चालकको पहिचान गोप्य राखिएको प्रहरी चौकी बढनिहारले जनाएको छ। बरामद ट्र्याक्टर र नियन्त्रणमा लिइएका चालकलाई आवश्यक कानुनी कारबाहीका लागि पर्सागढी नगरपालिकाको राजस्व शाखामा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
राष्ट्रिय वन क्षेत्रबाट हुने अवैध उत्खनन तथा प्राकृतिक स्रोतको चोरी–तस्करी नियन्त्रणका लागि निगरानी बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया