
काठमाडौं,०४ असार । गृहमन्त्री सुधन गुरुङ ले गलत कार्य गर्ने जो–कोहीलाई सरकारले नछाड्ने स्पष्ट गरेका छन्।
विपद् व्यवस्थापन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अपराध नियन्त्रण र सुशासनका विषयमा सरकार निर्मम रूपमा अघि बढ्ने बताए। उनका अनुसार सुरक्षा निकायका प्रमुखहरूसँग हिजै बैठक गरी आवश्यक निर्देशन दिइसकिएको छ।
“सेवा नै हाम्रो धर्म हो। सुरक्षा निकाय नागरिक सेवामा खटिने हो। अपराध नियन्त्रणदेखि सबै विषयमा हामी निर्मम रूपमा प्रस्तुत हुन्छौँ। गलत गर्ने आफ्नै पार्टी होस् वा अरूको, हामीले छुट्याएर हेर्दैनौँ,” उनले भने।
गृहमन्त्री गुरुङले सुरक्षा निकायमा हुने राजनीतिक दबाब र चलखेल अन्त्य भइसकेको दाबी पनि गरे।
यसैबीच उनले विपद् व्यवस्थापनका तयारीहरू तीव्र पारिएको जानकारी दिए। पूर्व–पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग लगायतका सडक अवरुद्ध भइरहेका अवस्थामा गृह मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीच समन्वय भइरहेको उनले बताए।
बाढी–पहिरो जस्ता विपद्को समयमा सडक तत्काल खोल्न आवश्यक उपकरणहरूको स्थान पहिचान गर्न डिजिटल प्रणाली विकास गरिएको पनि उनले जानकारी दिए। राइड–सेयरिङ एपजस्तै अवधारणामा आधारित उक्त प्रणालीमार्फत डोजर तथा अन्य उपकरण छिटो परिचालन गर्न सकिने उनको भनाइ छ।
उनले सरकार विगतका असल अभ्यासलाई निरन्तरता दिँदै कमजोरी सुधारेर अघि बढ्ने पनि स्पष्ट पारे।


प्रतिक्रिया