वीरगन्ज :

ओलीको दाबी : २०८४ मा एमालेको बहुमत, कांग्रेसले पनि भन्न पाउने अधिकार छ

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
2.5kViews
1124 Shares

काठमाडौँ,२५ जेठ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा कुनै मतभेद नरहेको बताएका छन्। उनले स्थिरता, सुशासन र विकासका एजेन्डामा केन्द्रित भई सरकार अघि बढिरहेको दाबी गरे।

शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सत्तारुढ गठबन्धनभित्र सहकार्य कायम रहेको प्रस्ट पारे। कांग्रेस र एमालेबीच भएको समझदारी अनुसार १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व सुम्पिने उल्लेख गर्दै ओलीले एमाले सरकारको साझेदारका रूपमा रहने बताए।

“हामीले २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै ‘मिशन २०८४’ अघि सारेका छौं, जसअन्तर्गत एमालेले एकल बहुमत ल्याउने लक्ष्य लिएको छ,” उनले भने, “कांग्रेसले पनि त्यही दाबी गर्न पाउने अधिकार राख्छ। अहिले सँगै सरकारमा रहे पनि निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीका साथ अघि बढिरहेका छौं।”

ओलीले गठबन्धनको अस्तित्व र उद्देश्यप्रति शंका नगर्न आग्रह गरे। उनले आगामी निर्वाचनसम्म सरकार सञ्चालनमा कुनै अन्योल नहुने बताए।

अनेरास्ववियुको योगदानको चर्चा गर्दै प्रधानमन्त्री ओलीले २०३६ सालको जनमतसंग्रहदेखि गणतन्त्र स्थापनासम्मको यात्रा विद्यार्थी आन्दोलनकै बलमा सम्भव भएको बताए। तर, उनले विद्यार्थी आन्दोलनको नाममा हिंसा, तोडफोड र आगजनीजस्ता गतिविधिलाई अस्वीकार गर्ने चेतावनी पनि दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *