वीरगन्ज :

हेटौँडा–काठमाडौं आवतजावतमा ‘वान–वे’ व्यवस्था

श्रेणी : प्रदेश

3 weeks
Pradeep Sah
3.1kViews
1300 Shares

हेटौँडा,१६ भदाै । हेटौँडा–काठमाडौं सडकखण्डमा सवारीको चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीसाधनका लागि ‘वान–वे’ रुट लागू गरिएको छ। नयाँ व्यवस्थाअनुसार काठमाडौं जाने र हेटौँडा फर्किने सवारीले फरक–फरक सडक प्रयोग गर्नुपर्नेछ।

स्थानीय प्रशासनका अनुसार १४ सिटभन्दा कम क्षमताका यात्रुवाहक सवारीसाधनले हेटौँटाबाट काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै यात्रा गर्नुपर्नेछ। काठमाडौंमा रहेका त्यस्ता सवारीले भने हेटौँडा फर्किँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी सडक प्रयोग गर्नुपर्नेछ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनका लागि पनि छुट्टै रुट निर्धारण गरिएको छ। ती सवारीले काठमाडौं जाँदा त्रिभुवन राजपथ र हेटौँडा फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ।

धादिङको कृष्णभीरमा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधनको चाप उल्लेख्य रूपमा बढेको हो। वैकल्पिक सडकमा समेत सवारीको अत्यधिक चाप बढेपछि प्रशासनले आवागमन सहज बनाउन एकतर्फी रुटको व्यवस्था गरेको हो।

प्रशासनले नयाँ रुट व्यवस्थाले वैकल्पिक सडकमा देखिएको सवारी जाम कम गर्नुका साथै लामो समयसम्म सवारी रोकिराख्नुपर्ने समस्या समाधान हुने अपेक्षा गरेको छ।

सडकको अवस्था र सवारी चापअनुसार आवश्यकताअनुसार रुट व्यवस्थापनमा थप निर्णय गर्न सकिने प्रशासनले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *