श्रेणी : खेलकुद
पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत महिला दश हजार मिटर दौड प्रतियोगितामा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । पोखरा रङ्गशालामा शनिबार भएको खेलमा सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पाखा लगाउँदै स्वर्ण जितेकी हुन् ।
सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२ दशमलव ३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । राजपुराले उक्त दूरी ३६ मिनेट २९ दशमलव ४५ सेकेन्ड समय खर्चदै दोस्रो स्थानमा रहिन् । सोही स्पर्धामा सशस्त्र प्रहरी बल (एपिएफ)की पुष्पा भण्डारी तेस्रो भइन् ।
पुष्पाले ३७ मिनेट ०४ दशमलव २ सेकेन्ड समय खर्चदै तेस्रो स्थानमा रहेकी हुन् । सन्तोषीले यसअघि सन् २०१९ मा नेपालमा नै भएको तेह्रौं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेकी थिइन् ।
त्यतिबेला उनले भारतकी खेलाडीलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । सन्तोषी सागको एथलेटिक्स खेलमा स्वर्ण पदक दिलाउने पहिलो महिला खेलाडीसमेत हुन् ।
खेलपछि सन्तोषीले राष्टिय किर्तिमान कायम गर्नुभन्दा पनि मेडलको लागि मात्र खेलेको बताइन् । उनले आर्मी म्याराथनबाट घाइते भएदेखि राम्रो खेल प्रदर्शन गर्न नसकेको र किर्तिमान तोड्न गाह्रो भएकोसमेत बताइन् ।
शारीरिक भन्दा पनि मानसिक रुपमा दृढ भएर स्वर्ण जित्न सफल भएकोमा आफू सन्तुष्ट रहेको उल्लेख गरिन् ।
प्रतिक्रिया