
श्रेणी : समाचार
काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेल मृत फेला परेका छन् । शनिबार बिहान काठमाडौंको काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएको बताइएको छ ।
एमाले नेताहरुका अनुसार ढुंगेल बाथरुममा मृत अवस्थामा फेला परेका हुन् । बाथरुममा लडेर उनको मृत्यु भएको हुनसक्ने उनीहरुले बताएका छन् । परिवारका अन्य सदस्यहरु बर्दिबास गएका कारण ढुंगेल घरमा एक्लै थिए ।
अहिले ढुंगेलको घरमा प्रहरी र ओखलढुंगाका नेता कार्यकर्ता पुगेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरत बोहराका अनुसार बानेश्वर प्रहरी वृत्तका प्रमुखसहितको टोली घटनास्थल पुगिसकेको छ ।
ओखलढुंगाका नेता ढुंगेल यसअघि माओवादी केन्द्रमा थिए । उनी पहिलो संविधानसभाका सदस्यसमेत थिए । सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर भएका थिए । उक्त अभियोगमा उनी दुई पटक गरी करिब ७ वर्ष जेल बसेका थिए ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालिन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बसेका थिए । उनी हाल एमालेको पोलिट्ब्यूरो सदस्य थिए ।


प्रतिक्रिया