बीरगंज,१२ असोज । बीरगंज महानगरपालिकाले मुख्य सडक (मेनरोड) विस्तारसँगै विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउन आवश्यक बजेट तत्काल विनियोजन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गरेको छ।
महानगर प्रमुख राजेशमान सिंहले मन्त्रालयलाई पत्र पठाउँदै सडक विस्तारपछि पुनः विद्युत्का तार ओभरहेड प्रणालीबाट राख्दा भविष्यमा सडक मर्मत, विस्तार, यातायात व्यवस्थापन तथा शहरी सौन्दर्यीकरणमा समस्या आउन सक्ने भन्दै अहिले नै भूमिगत विद्युत् प्रणाली निर्माण गर्न आग्रह गरेका हुन्।
महानगरले सडक विस्तारको सुरुवातदेखि नै नयाँ बन्ने मुख्य सडकखण्डमा विद्युत् प्रणाली भूमिगत बनाउन माग गर्दै आएको जनाएको छ। तर डिभिजन सडक कार्यालय, हेटौंडाले सडकको नयाँ डिजाइनअनुसार विद्युत्का तार हालकै ओभरहेड प्रणालीबाट व्यवस्थापन गर्ने योजना रहेको जानकारी गराएपछि महानगरले पुनः भूमिगत प्रणाली निर्माणका लागि पहल थालेको हो।
त्रिभुवन राजपथअन्तर्गत गण्डक–घण्टाघर–भन्सार सडकखण्डको दायाँ–बायाँ २५/२५ मिटर विस्तारको काम अन्तिम चरणमा पुगेको अवस्थामा सडकसँगै विद्युत् प्रणाली पनि भूमिगत गर्नुपर्ने महानगरको धारणा छ।
महानगरका अनुसार बीरगंज प्रमुख औद्योगिक, व्यापारिक तथा सीमावर्ती शहर भएकाले मुख्य सडकलाई दीर्घकालीन रूपमा आधुनिक, सुरक्षित, व्यवस्थित र सुन्दर बनाउन भूमिगत विद्युत् प्रणाली आवश्यक छ। भूमिगत प्रणाली निर्माण भए सडकमा रहेका विद्युत्का पोल तथा तार हट्ने र सडकको सौन्दर्यसँगै विद्युत् प्रणालीको सुरक्षामा समेत सुधार आउने अपेक्षा गरिएको छ।
मेयर सिंहले सम्बन्धित मन्त्रालय तथा निकायबीच आवश्यक समन्वय गरी भूमिगत विद्युत् प्रणाली निर्माणका लागि बजेट सुनिश्चित गर्न र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन मन्त्रालयसमक्ष आग्रह गरेका छन्।

प्रतिक्रिया