वीरगन्ज :

बाराको सीमा क्षेत्रमा अवैध गतिविधि रोक्न सशस्त्र प्रहरीको निगरानी बढ्ने

श्रेणी : BANNER

20 minutes
Pradeep Sah
2.1kViews
1228 Shares

बीरगंज,१२ असोज । बाराको खुला सीमाबाट हुने चोरी–पैठारी, लागूऔषध ओसारपसार तथा अन्य सीमा अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र सुरक्षा व्यवस्था थप कडा बनाउने भएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका बाहिनीपति डीआईजी विष्णु भट्टले बाराको करिब ६० किलोमिटर खुला सीमामध्ये मटिअर्वा नाका लागूऔषध ओसारपसारका दृष्टिले बढी संवेदनशील देखिएकाले त्यहाँ विशेष निगरानी बढाइने बताएका छन्।

कलैया उपमहानगरपालिका–१६ दक्षिण झिट्कैयास्थित सशस्त्र प्रहरी बल नेपाल नं. १२ गणमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै डीआईजी भट्टले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि निगरानी प्रणाली थप प्रभावकारी बनाइने जानकारी दिए।

उनका अनुसार सीमा क्षेत्रमा सीसीटीभीको व्यवस्थापन, नियमित निगरानी तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँगको समन्वयलाई थप प्रभावकारी बनाइनेछ। सीमा अपराध नियन्त्रणका लागि सुरक्षा निकायको प्रयाससँगै स्थानीय नागरिक, व्यवसायी, सञ्चारकर्मी र राजनीतिक दलको सहयोगसमेत आवश्यक रहेको उनले बताए।

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी कर्मचारीबाट कुनै किसिमको अनियमितता भए प्रमाणसहित जानकारी गराउन आग्रह गर्दै डीआईजी भट्टले प्रमाणित हुने अवस्थामा सम्बन्धित कर्मचारीमाथि कारबाही गरिने स्पष्ट पारे।

कार्यक्रममा सहभागी व्यवसायी तथा स्थानीय सरोकारवालाले सीमावर्ती क्षेत्रबाट भारतीय सामान भित्रिँदा स्थानीय व्यापारमा परेको प्रभाव, सीमा सुरक्षालाई प्रभावकारी बनाउने उपाय तथा व्यापार सहजीकरणका विषयमा धारणा राखेका थिए।

डीआईजी भट्टले सीमा सुरक्षासँगै विपद्का समयमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीको क्षमता र तयारीसमेत बढाइएको जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *