सिराहा,२४ साउन । सिराहाको गोलबजार क्षेत्रबाट प्रहरीले प्रतिबन्धित औषधि र लागुऔषध ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त टोलीले शनिबार साँझ छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गोलबजार नगरपालिका–७ स्थित दुर्गा मन्दिर नजिक शंकास्पद अवस्थामा फेला परेका मिर्चैया नगरपालिका–८ का १८ वर्षीय शिवप्रसाद राय कुर्मीलाई चेकजाँच गर्दा प्रतिबन्धित औषधि बरामद भएको थियो । उनले बोकेको सेतो बोराभित्र लुकाएर राखिएको ‘ONEREX-100 ML’ लेखिएको १३ बोतल औषधि र एउटा मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, गोलबजार नगरपालिका–८ पुरानो चोहर्वाबाट गोलबजार–६ का २३ वर्षीय जयकुमार नायक पक्राउ परेका छन् । शनिबार राति करिब ९ बजे पैदल हिँडिरहेका नायकलाई शंका लागेर जाँच गर्ने क्रममा ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद पदार्थको तौल प्लास्टिकसहित ६ ग्राम १४ मिलिग्राम र प्लास्टिक हटाउँदा ४ ग्राम ५७ मिलिग्राम रहेको छ ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ । उनीहरूमाथि लागुऔषध तथा प्रतिबन्धित औषधिसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रतिक्रिया