वीरगंज,२४ साउन । लगातार भइरहेको वर्षाका कारण देशका विभिन्न जिल्लामा पहिरो, बाढी, सडक कटान तथा हिलोका कारण प्रमुख सडकखण्ड प्रभावित भएका छन्। प्रहरीका अनुसार विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा सवारीसाधनको आवागमनमा समस्या भएको छ।
सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुलीसम्मको सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन चलाउन नपाइने व्यवस्था गरिएको हो। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइनेछ। यो व्यवस्था अर्को सूचना जारी नभएसम्म लागू रहने जनाइएको छ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। वर्षाका कारण सडकमा जोखिम बढेपछि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ। उक्त व्यवस्था अर्को सूचना नभएसम्म कायम रहनेछ।
इलाममा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित सडकमा वर्षाका कारण अत्यधिक हिलो जमेर सवारीसाधन सञ्चालन गर्न कठिन भएपछि सडकखण्ड पूर्ण रूपमा बन्द भएको हो। उक्त क्षेत्रमा वैकल्पिक सडकको व्यवस्था रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकमा अरनिको राजमार्गका विभिन्न खण्डमा पनि यातायात प्रभावित भएको छ। भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा सडक माथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। सोही गाउँपालिकाको लिपिङमा सडक भासिएपछि अरनिको राजमार्गको उक्त खण्डमा समेत सवारीसाधन सञ्चालन ठप्प भएको प्रहरीले जनाएको छ।
रसुवाको पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको छ। उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि सडक अवरुद्ध भएको हो। नदी कटानका कारण सडकमा ठूलो क्षति पुगेपछि सवारीसाधनको आवागमन रोकिएको छ।
उता, रुकुम पश्चिममा भेरी करिडोरअन्तर्गतको जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ। आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित सडकमा माथिबाट ढुङ्गा, माटो तथा लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
तेह्रथुममा पनि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लालीगुराँस नगरपालिका–९ काडेस्थित पिङवा खोलानजिक करिब ३० देखि ३५ मिटर माथिबाट ढुङ्गा र माटोसहितको पहिरो खसेपछि सडकमा यातायात प्रभावित भएको हो।
लगातारको वर्षाका कारण विभिन्न सडकखण्डमा बाढी, पहिरो, सडक कटान तथा हिलोको जोखिम बढेको प्रहरीले जनाएको छ। जोखिमयुक्त सडकमा जुनसुकै समयमा आवागमन प्रभावित हुन सक्ने भएकाले यात्रुलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
अवरुद्ध सडकखण्ड खुलाउने तथा प्रभावित क्षेत्रमा यातायात सञ्चालन सहज बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। सडकको अवस्था परिवर्तन भएमा थप सूचना जारी गरिने बताइएको छ।

प्रतिक्रिया