वीरगन्ज :

वीरगन्जमा ठूलो परिमाणमा घरेलु मदिरा बरामद, चार जना प्रहरी नियन्त्रणमा

श्रेणी : अपराध

8 hours
Pradeep Sah
1.7kViews
1411 Shares

बीरगन्ज,२४ साउन । बीरगन्जमा प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा (लोकल रक्सी) बरामद गर्नुका साथै चार जनालाई पक्राउ गरेको छ। प्रहरीले मदिरा ओसारपसारमा प्रयोग भएको हायस गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट शनिबार परिचालित प्रहरी टोलीले बीरगन्ज महानगरपालिका–१५ स्थित प्रतिमा चोकमा हेटौँडाबाट बीरगन्जतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज १४०२ नम्बरको हायस रोकेर चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा गाडीभित्र प्लास्टिकका बोरामा लुकाएर राखिएको १०८ वटा पोकामा २ हजार २०० लिटर तयारी घरेलु मदिरा फेला परेको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले गाडीका चालकसहित चार जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा–१० का २९ वर्षीय मनोजकुमार थिङ, बाराको जीतपुरसिमरा–१ की ३५ वर्षीया कोपिला गुरुङ, ३६ वर्षीया रोनु तामाङ र ३३ वर्षीया माया पाख्रिन रहेका छन्।

प्रहरीका अनुसार बरामद मदिरा, हायस गाडी र पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, वीरगन्जमा बुझाइएको छ।

यसैबीच, शनिबार नै प्रहरीले बीरगन्ज–१५ स्थित त्रिशूल चोकका विभिन्न खाजा होटलमा लुकाएर राखिएको थप ७५ पोकामा १ हजार ३०० लिटर घरेलु मदिरा समेत बरामद गरेको पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

प्रहरीका अनुसार पछिल्लो बरामदगीसहित बीरगन्ज क्षेत्रमा एकै दिनमा ३ हजार ५०० लिटर घरेलु मदिरा नियन्त्रणमा लिइएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *