वीरगन्ज :

जीतपुर–सिमरामा कर विवाद : इँटा, काठ, कोइला र क्लिङ्करमा असुलीको विरोध

श्रेणी : अर्थ

4 hours
Pradeep Sah
1.7kViews
1180 Shares

बारा,०५ साउन । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला तथा क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी तथा व्यवसायीहरूले त्यसलाई गैरकानुनी भएको दाबी गरेका छन्। उनीहरूले अवैध रूपमा असुल गरिएको कर तत्काल फिर्ता गर्न र ती वस्तुहरूलाई स्थानीय करको सूचीबाट हटाउन माग गर्दै उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्।

हरिप्रसाद गौतमद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा जडीबुटी, कवाडी तथा जीवजन्तु कर संकलनका लागि दिइएको ठेक्काको दुरुपयोग गर्दै ठेकेदारले कानुनले कर नलाग्ने वस्तुहरूमा समेत कर उठाइरहेको आरोप लगाइएको छ।
ज्ञापनपत्रमा स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र प्रचलित ऐन–कानुनअनुसार मात्रै कर संकलन गर्न पाउने व्यवस्था रहेको उल्लेख गर्दै इँटा, काठ, कोइला र क्लिङ्करजस्ता वस्तुमा कर असुल्नु कानुनविपरीत भएको दाबी गरिएको छ।

उद्योगी तथा व्यवसायीहरूले इँटा उद्योगको मुख्य उत्पादन इँटा, वन क्षेत्रबाट प्राप्त हुने काठ, विदेशबाट आयात हुने कोइला तथा उद्योगको प्रमुख उत्पादन क्लिङ्करमा स्थानीय कवाडी कर लगाउन नमिल्ने बताएका छन्।

यस्तो करले उद्योगहरूको उत्पादन लागत बढ्ने, प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने र समग्र औद्योगिक क्षेत्र नै प्रभावित हुने उनीहरूको भनाइ छ।
उनीहरूले उपमहानगरपालिकासँग तत्काल यस्ता वस्तुहरूलाई स्थानीय करको सूचीबाट हटाउन, नियमविपरीत असुल गरिएको कर सम्बन्धित उद्योगी तथा व्यवसायीलाई फिर्ता गर्न तथा भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन आवश्यक कदम चाल्न माग गरेका छन्।

ज्ञापनपत्रको बोधार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रशासन कार्यालय बारामा समेत पठाइएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *