काठमाडौं,०५ साउन । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा मृत फेला परेकी २५ वर्षीया निशा सुनुवारको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दैलेखका रमेश बुढालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सुनुवारको शव असार ३२ गते गेस्टहाउसको कोठाभित्र पलङमुनि लुकाइएको अवस्थामा फेला परेको थियो। घटनाबारे अनुसन्धानपछि प्रहरीले मुख्य आरोपीलाई पक्राउ गरेको हो।
प्रहरी अनुसन्धानअनुसार रमेश बुढा पोखराबाट घर फर्किने क्रममा नयाँ बसपार्कमा निशासँग भेटिएका थिए। पहिलो भेटमा उनी गेस्टहाउस पुगेका थिए। त्यही क्रममा आफू नुहाउन गएको बेला निशाले बाहिरबाट बाथरुमको ढोका लगाएर झोलामा रहेको करिब १ लाख रुपैयाँ लिएर फरार भएको आरोप रमेशले अनुसन्धानका क्रममा बताएका छन्।
पैसा हराएको थाहा पाएपछि उनले आफ्ना साथीसँग सम्पर्क गरी बसपार्क क्षेत्रमा निशाको खोजी गरेका थिए। भोलिपल्ट पुनः भेट भएपछि उनले होटल जाने प्रस्ताव राखेका थिए। मास्क लगाएकाले निशाले उनलाई चिन्न नसकेको प्रहरीको भनाइ छ।
गेस्टहाउसको कोठामा पुगेपछि रमेशले चोरी भएको रकमबारे सोधपुछ गरेका थिए। त्यसक्रममा विवाद चर्किएपछि उनले आफ्नै कम्मरमा बाँधेको बेल्टले निशाको घाँटी कसी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको काठमाडौंका एसएसपी दिलीप घिमिरेले जानकारी दिए।
हत्यापछि आरोपीले शव पलङभित्र लुकाएर कोठामै बसेका थिए। पछि उनका एक साथी पनि त्यही कोठामा पुगेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार ती साथीलाई हत्याबारे जानकारी नभएको देखिएको प्रहरीले जनाएको छ।
साउन ३ गते कोठा सफा गर्ने क्रममा दुर्गन्ध आएपछि गेस्टहाउसका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनाको अनुसन्धान अघि बढाउँदै प्रहरीले महाराजगञ्ज क्षेत्रबाट रमेश बुढालाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा उनका साथी दानबहादुर शाहीलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिइएको भए पनि हालसम्मको अनुसन्धानले हत्यामा रमेश बुढाको मात्रै प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया