बीरगन्ज,०५ साउन । पर्सा जिल्लामा साक्षरता अभियानले उल्लेखनीय गति लिएको छ। वीरगन्ज महानगरपालिकासहित सखुवाप्रसौनी गाउँपालिका, पकाहामैनपुर गाउँपालिका र बहुदरमाई नगरपालिका साक्षर स्थानीय तह घोषणा गर्ने अन्तिम तयारीमा पुगेका छन्।
सम्बन्धित स्थानीय तहहरूले साक्षरतासम्बन्धी तथ्याङ्क सङ्कलन र प्रमाणीकरणको काम अन्तिम चरणमा पुर्याएका छन्। पकाहामैनपुर गाउँपालिकाले पाँचै वडामा तथ्याङ्क सङ्कलन सम्पन्न गरिसकेको छ भने सखुवाप्रसौनीमा छमध्ये पाँच वडाको काम सकिएको र एक वडामा गणना बाँकी रहेको जनाइएको छ। बहुदरमाई नगरपालिकाले १० मध्ये पाँच वडाको तथ्याङ्क सङ्कलन पूरा गरी बाँकी वडामा कामलाई तीव्रता दिएको छ।
यसअघि ठोरी गाउँपालिका पर्साको पहिलो साक्षर स्थानीय तह घोषणा भएको थियो भने जीराभवानी गाउँपालिकाले पनि साक्षर पालिकाको मान्यता प्राप्त गरिसकेको छ। अब आवश्यक प्रक्रिया पूरा भएपछि वीरगञ्ज महानगरपालिकासहित थप तीन स्थानीय तह पनि औपचारिक रूपमा साक्षर घोषणा हुनेछन्।
साक्षर स्थानीय तह घोषणा गर्न नागरिकको क्षमता १२ वटा सूचकका आधारमा मूल्याङ्कन गरिन्छ। तीमध्ये कम्तीमा छ वटा सूचक पूरा गर्ने व्यक्तिलाई साक्षर मान्ने व्यवस्था छ। सूचकमा अक्षर तथा अंक चिन्ने, सामान्य हिसाबकिताब गर्ने, समय बुझ्ने, मोबाइल वा क्यालकुलेटर प्रयोग गर्ने, चेकबुक भर्ने, ट्राफिक चिह्न बुझ्ने, सूचना पढेर बुझ्ने तथा सामुदायिक कार्यक्रममा आफ्ना विचार व्यक्त गर्न सक्ने जस्ता आधारभूत सीप समावेश छन्।
वीरगन्ज महानगरपालिकाका पाँच वटा वडा यसअघि नै साक्षर घोषणा भइसकेका छन् भने बाँकी वडामा आवश्यक प्रक्रिया अघि बढिरहेको महानगरपालिकाले जनाएको छ।
हाल पर्सामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तह रहेका छन्। जिल्लाभर सञ्चालन भइरहेको साक्षरता अभियान प्रभावकारी बन्दै गएको भन्दै निकायहरूले निकट भविष्यमा थप स्थानीय तह साक्षर घोषणा हुने अपेक्षा गरेका छन्।

प्रतिक्रिया