श्रेणी : अपराध

वीरगंज (पर्सा), ९ असार । पर्साको जगरनाथपुर गाउँपालिका–३ जमुनिया क्षेत्रमा भारतबाट अवैध रूपमा नेपाल ल्याइँदै गरिएका ६ सय वटा प्रतिबन्धित हाँस र कुखुराका चल्ला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपालअन्तर्गत बोर्डर आउट पोस्ट (बीओपी) पिडारीगुठीबाट परिचालित गस्ती टोलीले सीमावर्ती क्षेत्रमा शंकास्पद गतिविधि देखेपछि निगरानी बढाएको थियो। त्यसक्रममा दुई जना व्यक्तिले साइकलमा लोड गरी चल्लाहरू नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी टोली नजिकिएपछि चल्ला र साइकल छाडेर भारततर्फ भागेको जनाइएको छ।
बरामद गरिएका हाँस तथा कुखुराका चल्लाको अनुमानित मूल्य करिब १ लाख ८० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीको भनाइ छ।
पशुजन्य रोगको सम्भावित संक्रमण रोकथामलाई प्राथमिकता दिँदै बरामद चल्लाहरूलाई पशु चिकित्सक, स्थानीय भद्रभलाद्मी तथा नेपाल प्रहरीको उपस्थितिमा बीओपी नजिकैको खाली स्थानमा खाडल खनेर नष्ट गरिएको बताइएको छ।
घटनासँग सम्बन्धित व्यक्तिको पहिचान तथा अवैध ओसारपसारको सञ्जालबारे थप अनुसन्धान जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।


प्रतिक्रिया