
काठमाडौं,०४ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले बजेट सीमित भएकै कारण शिक्षा क्षेत्रको सुधार नरोकिने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले शिक्षा सुधार केवल बजेटमा मात्र निर्भर नहुने स्पष्ट पारे। उनका अनुसार शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत सुधार, व्यवस्थापन र प्रभावकारी कार्यान्वयन पनि उत्तिकै आवश्यक हुन्छ।
“शिक्षा सुधारका लागि सबै काममा बजेट नै चाहिन्छ भन्ने होइन, बजेट कम भएकै कारण सुधार रोकिन्छ भन्न मिल्दैन,” मन्त्री पोखरेलले भने।
उनले शिक्षकको तलब, तालिम लगायतका खर्च चालुतर्फ पर्ने भएकाले पुँजीगत बजेट कम देखिएको पनि स्पष्ट पारे।
साथै, सबै माध्यमिक विद्यालयमा स्मार्टबोर्ड जडान गर्ने लक्ष्यसहित सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए। विद्यालय शिक्षा स्थानीय तहको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै मन्त्री पोखरेलले स्थानीय सरकारहरूले पनि शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गर्नुपर्नेमा जोड दिएका छन्।


प्रतिक्रिया