
काठमाडौं,०४ असार । सशस्त्र प्रहरी बलले देशका दुई फरक स्थानमा भएका नदी दुर्घटनाबाट दुई जनाको सकुशल उद्धार गरेको छ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका–११ धारापानीका ६२ वर्षीय झनक प्रसाद पौडेललाई आज बिहान नारायणी नदीबाट उद्धार गरिएको हो।
सशस्त्र प्रहरी बलको ३१ नम्बर गुल्मबाट खटिएको टोलीले मोटरबोट प्रयोग गरी उनलाई सुरक्षित निकाल्न सफल भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उद्धारपछि उनलाई उपचारका लागि चितवन पठाइएको छ र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लार्चास्थित भोटेकोशी नदीमा फसेका अर्का एक युवाको पनि आजै उद्धार गरिएको छ। सोही गाउँपालिका–१ लिस्तीका २३ वर्षीय सन्जिव बिकलाई नदीले बगाएको थियो। सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट तातोपानीबाट खटिएको टोलीले उनलाई नदीको बीच भागमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा फेला पारेर उद्धार गरेको हो।
उद्धारपछि सन्जिव बिकलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। सशस्त्र प्रहरीले समयमै उद्धार कार्य सञ्चालन गर्दा दुवै जनाको ज्यान जोगिएको जनाएको छ।


प्रतिक्रिया