वीरगन्ज :

युवालाई स्वदेशमै अवसर दिने सरकारको प्रतिबद्धता : मन्त्री यादव

श्रेणी : अन्तर्राष्ट्रिय

3 hours
Pradeep Sah
2.7kViews
1468 Shares

काठमाडौं,०३ असार ।  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारी प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने सरकारको तयारी रहेको बताएका छन्।

प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले आगामी दशकलाई ‘राष्ट्रिय रोजगार प्रवर्द्धन दशक’ का रूपमा अघि बढाउने योजना रहेको जानकारी दिए।

मन्त्री यादवका अनुसार रोजगारी नीति परिमार्जन, वैदेशिक रोजगार ऐन संशोधन र श्रम क्षेत्रको डिजिटाइजेसनलाई प्राथमिकतामा राखिएको छ। उनका अनुसार वैदेशिक रोजगारीमा हुने ठगी, बिचौलियाको प्रभाव र श्रम शोषण नियन्त्रण गर्न विशेष सुधारात्मक कार्यक्रम अघि बढाइएको छ।

उनले मन्त्रालयले हालसम्म १० हजारभन्दा बढी पुराना श्रमसम्बन्धी फाइल डिजिटाइज गरिसकेको र करिब १५ हजार मुद्दा टुंग्याउने लक्ष्यसहित काम भइरहेको बताए।

स्वदेशमै रोजगारी सिर्जना गर्न स्थानीय तहमा सीप विकास, अप्रेन्टिससिप, आर्टिफिसियल इन्टेलिजेन्स (AI) तथा सूचना प्रविधिसम्बन्धी तालिम सञ्चालन गरिने योजना रहेको पनि उनले जानकारी दिए। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता र स्वरोजगारतर्फ आकर्षित गर्ने कार्यक्रम पनि अघि सारिएको छ।

मन्त्री यादवले श्रम क्षेत्रका समस्या समाधानका लागि सरकार सक्रिय रहेको उल्लेख गर्दै श्रमिक शोषण नियन्त्रणका लागि देशभर निरीक्षण तीव्र पारिएको बताए। उनका अनुसार हालसम्म करिब ८०० वटा श्रम निरीक्षण सम्पन्न भइसकेका छन्।

उनले बैंक तथा वित्तीय संस्थामा समेत श्रम ऐन कार्यान्वयन सुनिश्चित गर्न नेपाल राष्ट्र बैंकमार्फत निर्देशन पठाइएको उल्लेख गर्दै श्रमिकको अधिकार संरक्षण र श्रमको सम्मान सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *