
वीरगन्ज,०३ असार । वीरगन्जस्थित सकाइलाइन मलमा सञ्चालनमा रहेका ‘सरोवर पोर्टिको होटेल’ र सोही मलको माथिल्लो तलामा रहेको ‘द नेस्ट एट दी टप’ रेस्टुराँले खाद्य स्वच्छताको क्षेत्रमा उच्चतम मान्यता प्राप्त गरेका छन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, वीरगन्जले दुवै प्रतिष्ठानलाई ‘खाद्य स्वच्छता स्तर (क)–अतिउत्तम’ को प्रमाणपत्र प्रदान गरेको हो।
नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा सञ्चालन गरिएको स्तरीकरण कार्यक्रमअनुसार स्थलगत अनुगमन, प्राविधिक मूल्याङ्कन तथा आवश्यक कागजात परीक्षणपछि मङ्गलबार उक्त प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ।
‘स्तर (क)–अतिउत्तम’ स्तरीकरण कार्यक्रमअन्तर्गत प्रदान गरिने सबैभन्दा उच्च श्रेणी हो। यस श्रेणीका लागि प्रतिष्ठानले भान्सा तथा सेवा क्षेत्रको उच्चस्तरीय सरसफाइ कायम गरेको, गुणस्तरीय र सुरक्षित कच्चा पदार्थ प्रयोग गरेको, खाद्य सामग्रीको उचित भण्डारण तथा तापक्रम व्यवस्थापन अपनाएको हुनुपर्छ। साथै, खाना तयारी र परोस्ने क्रममा स्वच्छता मापदण्डको पूर्ण पालना, कर्मचारीको व्यक्तिगत सरसफाइ तथा नियमित स्वास्थ्य परीक्षण, प्रभावकारी फोहर व्यवस्थापन र कीट नियन्त्रण प्रणालीको कार्यान्वयन समेत अनिवार्य मापदण्डका रूपमा रहेका छन्।
डिभिजन कार्यालयका प्राविधिक टोलीले यी सबै पक्षको सूक्ष्म निरीक्षण तथा मूल्याङ्कनपछि मात्र ‘अतिउत्तम’ श्रेणी प्रदान गरेको जनाएको छ।
कार्यालयका अनुसार खाद्य स्वच्छता स्तरीकरण कार्यक्रमको मुख्य उद्देश्य उपभोक्तालाई सुरक्षित, स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउनुका साथै होटेल तथा रेस्टुराँ व्यवसायमा उत्तरदायित्व र पारदर्शिता अभिवृद्धि गर्नु हो।
सकाइलाइन मलजस्तो व्यावसायिक केन्द्रमा रहेका दुई प्रतिष्ठानले ‘अतिउत्तम’ स्तर हासिल गर्नु वीरगञ्जको आतिथ्य क्षेत्रमा सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ। यसले उपभोक्तामा विश्वास बढाउनुका साथै अन्य व्यवसायीलाई पनि खाद्य स्वच्छता र गुणस्तर कायम राख्न प्रेरणा दिने अपेक्षा गरिएको छ।
डिभिजन कार्यालयले आगामी दिनमा समेत नियमित अनुगमनलाई निरन्तरता दिँदै मापदण्ड विपरीत कार्य गर्ने प्रतिष्ठानमाथि आवश्यक कारबाही गरिने जनाएको छ।


प्रतिक्रिया