वीरगन्ज :

पर्सामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह–२०८३’ सुरु, सडक सुरक्षामा सामूहिक सहभागितामा जोड

श्रेणी : मधेस

2 hours
Pradeep Sah
2.3kViews
1990 Shares

बीरगन्ज,०३ असार । सडक अनुशासनको प्रवर्द्धन तथा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पर्सामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम–२०८३’ बुधबारदेखि सुरु भएको छ। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, जिल्ला प्रहरी कार्यालय पर्सा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्जको संयुक्त आयोजनामा सप्ताहव्यापी अभियान शुभारम्भ गरिएको हो।

असार ३ देखि ९ गतेसम्म सञ्चालन हुने कार्यक्रमको उद्घाटन सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले गरेका थिए। कार्यक्रममा सुरक्षा निकाय, विभिन्न संघसंस्था, शैक्षिक क्षेत्र तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत आयोजित जनचेतनामूलक र्‍याली वीरगञ्जको घण्टाघरबाट सुरु भई लिंक रोड, बसपार्क र भानुचोक हुँदै पुनः घण्टाघर पुगेर सम्पन्न भएको थियो। र्‍यालीमा सहभागीहरूले ट्राफिक नियम पालना, सुरक्षित यात्रा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी सन्देश बोकेका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए।

नेपाल स्काउटका सदस्य तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको र्‍यालीमार्फत हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग, मदिरा सेवनपछि सवारी नचलाउने तथा पैदलयात्रीको सुरक्षालाई प्राथमिकता दिनुपर्ने सन्देश प्रवाह गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालले सडक सुरक्षा सुनिश्चित गर्न ट्राफिक प्रहरीको प्रयास मात्र पर्याप्त नहुने बताए। चालक, यात्रु, पैदलयात्री र आम नागरिक सबैले ट्राफिक नियमको पालना गरेमा अधिकांश दुर्घटना रोक्न सकिने उनको भनाइ थियो।

प्रहरी निरीक्षक कटवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूले सडक सुरक्षाप्रति सामूहिक जिम्मेवारीको भावना विकास गर्नुपर्नेमा जोड दिएका थिए।

आयोजकका अनुसार सप्ताहभर विद्यालय, सार्वजनिक स्थल तथा सवारी चालक लक्षित सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, पर्चा वितरण र ट्राफिक नियमसम्बन्धी विभिन्न अभियान सञ्चालन गरिनेछ। अभियानले नागरिकमा सडक सुरक्षाप्रतिको जिम्मेवारीबोध बढाउँदै दुर्घटना न्यूनीकरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *