श्रेणी : BANNER
वीरगंज (पर्सा), २ असार । उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने म्याद नाघेका तथा गुणस्तरहीन सौन्दर्य सामग्री प्रयोग गरेको भेटिएपछि वीरगञ्जका चार वटा ब्युटी पार्लर तथा सौन्दर्यसम्बन्धी संस्थामाथि प्रशासनले कारबाही गरेको छ। संयुक्त अनुगमन टोलीले ती संस्थालाई कुल १ लाख ६० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साको समन्वय तथा पहलमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको नेतृत्वमा सञ्चालन गरिएको अनुगमनका क्रममा विभिन्न ब्युटी पार्लरहरूमा आकस्मिक निरीक्षण गरिएको थियो। निरीक्षणका बेला चार संस्थामा उपभोक्ता हितविपरीत गतिविधि फेला परेको अनुगमन टोलीले जनाएको छ।
कारबाहीमा पर्ने संस्थाहरूमा लिंक रोड घण्टाघरस्थित द बियर्ड शप ब्युटी सैलुन, आदर्शनगरमा सञ्चालित औरा एलेभेन, घडिअर्वा पोखरी नजिक रहेको कुरियर्स माउन्ड ग्रुप प्रालि रहेका छन्।
अनुगमन टोलीका सदस्य प्रकाशकुमार शाहका अनुसार ती संस्थाले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ट) अन्तर्गतको कसुर गरेको पुष्टि भएपछि ऐनको दफा ३९ (घ) बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको हो।
निर्णयअनुसार द बियर्ड शप ब्युटी सैलुन, औरा एलेभेन र कुरियर्स माउन्ड ग्रुप प्रालिलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ ।
अनुगमनका क्रममा विभिन्न संस्थाबाट संकलन गरिएका म्याद गुज्रिएका तथा प्रयोगयोग्य नरहेका सौन्दर्य सामग्रीसमेत जफत गरिएको छ। टोलीका अनुसार ती सामग्रीहरूको मूल्य लाखौँ रुपैयाँ बराबर रहेको छ र तिनलाई नष्ट गरिएको छ।
संयुक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, उद्योग वाणिज्य संघ वीरगञ्ज, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, सौन्दर्यकर्मी संघका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील सरोकारवालाहरूले सौन्दर्य सेवा क्षेत्रमा म्याद गुज्रिएका सामग्रीको प्रयोग अत्यन्त संवेदनशील विषय भएको उल्लेख गर्दै यस्ता गतिविधिमाथि निरन्तर निगरानी, नियमित अनुगमन तथा कडा कानुनी कारबाही आवश्यक रहेको बताएका छन्। उनीहरूले उपभोक्ताको स्वास्थ्य र सुरक्षासँग कुनै सम्झौता गर्न नहुनेमा जोड दिएका छन्।

प्रतिक्रिया