वीरगन्ज :

मन्त्रीको सवारी रोक्न सडकमै सुते स्थानीय बासिन्दा

श्रेणी : प्रदेश

2 hours
Pradeep Sah
1.5kViews
1801 Shares

विराटनगर,२८ जेठ । वर्षौंदेखि जीर्ण सडकको तत्काल मर्मतको माग गर्दै विराटनगरका स्थानीयवासीले विरोध प्रदर्शन गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीको गाडीसमेत रोक्ने प्रयास गरेका छन्।

विराटनगर स्थित पुष्पलाल चोक–तिनपैनी सडक खण्डअन्तर्गत ल क्याम्पस अगाडि स्थानीयले सडकमा ढाट लगाएर अवरोध सिर्जना गर्नुका साथै सडकमा नै सुतेर विरोध जनाएका हुन्।प्रदर्शनकारीहरूले सडकमा खाल्डाखुल्डी बढ्दै जाँदा दैनिक दुर्घटना भइरहे पनि सम्बन्धित निकायले बेवास्ता गरेको आरोप लगाएका छन्। उनीहरूले सडक भएर नियमित आवतजावत गर्ने मन्त्रीले समेत समस्या नदेखेको भन्दै आक्रोश व्यक्त गरे।

स्थानीय डम्बर दाहालका अनुसार पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर सडकमै सुतेर विरोध गर्नुपरेको हो। उनले भने, “हामीलाई आश्वासन होइन, सुरक्षित सडक चाहिएको हो।”

स्थानीयका अनुसार उक्त सडकमा दैनिक २ देखि ४ वटा सवारी दुर्घटना हुने गरेका छन्, जसले स्थानीयको दैनिकी प्रभावित बनाएको छ।

स्थानीयले सडक बिग्रिनुको मुख्य कारण ओभरलोड टिपर र भारी सवारी साधन भएको आरोप लगाएका छन्। बालुवा, गिट्टी तथा निर्माण सामग्री बोकेर अत्यधिक भारका सवारी दैनिक सयौँको संख्यामा सञ्चालन हुँदा सडक छिट्टै बिग्रिने गरेको उनीहरूको भनाइ छ।

ट्राफिक व्यवस्थापन र ओभरलोड नियन्त्रणमा सरकारी निकायले प्रभावकारी कदम नचालेको आरोप पनि स्थानीयले लगाएका छन्। यो सडक विराटनगर महानगरपालिका अन्तर्गत पर्छ। महानगरले अघिल्लो आर्थिक वर्षको अन्त्यतिर मर्मत गरेको भए पनि कमसल सामग्री प्रयोग र अनियमितताका कारण सडक पुनः जीर्ण बनेको स्थानीयको आरोप छ।

यसअघि स्थानीयले मेयर र उपमेयरसँग भेट गरी समस्या उठाएका थिए, जहाँ चर्काचर्की समेत भएको बताइएको छ। प्रदर्शनका क्रममा सडक अवरुद्ध भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। छलफल र सम्झाइबुझाइपछि स्थानीयले केही समयपछि सडक खुलाएका हुन्।

प्रहरीका अनुसार स्थिति केहीबेर तनावपूर्ण भए पनि अहिले सामान्य भएको छ। स्थानीयले भने समस्या समाधान नभए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *