वीरगन्ज :

सिम्रौनगढमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन

श्रेणी : मधेस

2 hours
Pradeep Sah
2.8kViews
1255 Shares

सिम्रौनगढ (बारा), ३० वैशाख । बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालय परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि अत्याधुनिक सेवा केन्द्र भवन सञ्चालनमा आएको छ । बुधबार आयोजित विशेष समारोहबीच नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की, किशोरी साह कलवार तथा जलन्धर सिंह जैसवारले संयुक्त रूपमा नवनिर्मित भवनको उ्‌दघाटन गरेका हुन् ।

विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालयको आर्थिक सहयोगमा संयुक्त राष्ट्र परियोजना सेवा कार्यालय युएनओपिएस मार्फत निर्माण गरिएको उक्त भवन ३ करोड ५१ लाख ४ सय रुपैयाँ लागतमा सम्पन्न भएको हो । सेवा केन्द्र सञ्चालनमा आएपछि घरेलु हिंसा, लैङ्गिक हिंसा, बालअधिकार उल्लङ्घन तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित घटनाका पीडितलाई एकद्वार प्रणालीमार्फत मनोसामाजिक सहयोग, परामर्श तथा कानुनी सहजीकरणसहितको सेवा उपलब्ध गराइने विश्वास गरिएको छ ।

नवनिर्मित भवनबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई गोप्य, सुरक्षित र पीडितमैत्री वातावरणमा सेवा प्रदान गरिने अपेक्षा गरिएको छ । विशेषगरी घरेलु हिंसा, लैङ्गिक हिंसा र बालअधिकार उल्लङ्घनजस्ता संवेदनशील मुद्दामा पीडितलाई सहज पहुँचसहित प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गरिएको जनाइएको छ ।

उद्घाटनपछि आईजीपी कार्कीले सेवा केन्द्र भवनको अवलोकन गर्नुका साथै प्रहरी कार्यालय परिसरमा वृक्षारोपणसमेत गरेका थिए । कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थालाई प्रशंसापत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले बेलायत सरकारले विभिन्न परियोजनामार्फत नेपाल प्रहरीको क्षमता अभिवृद्धि, भौतिक पूर्वाधार निर्माण, तालिम तथा समुदायसँगको सहकार्य विस्तारमा महत्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गरे । उनले समयमै भवन निर्माण सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण निकाय, प्राविधिक टोली तथा सरोकारवालाप्रति आभार व्यक्त गरे ।

उनले नयाँ भवनलाई केवल भौतिक संरचनाको रूपमा मात्र नभई प्रहरी र नागरिकबीचको विश्वास तथा सहकार्यको प्रतीकका रूपमा व्याख्या गर्दै यसले नागरिकमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार, सुरक्षा र सम्मान संरक्षणमा सेवा केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख गोविन्द थपलिया ले अपराध नियन्त्रण र फैसला कार्यान्वयनमा मधेश प्रदेश प्रहरीले उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन् । उनले शान्ति सुरक्षा कायम गर्ने सवालमा प्रदेश प्रहरीले शून्य सहनशीलताको नीति अपनाउँदै आएको उल्लेख गर्दै आगामी दिनमा अपराध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाइने जानकारी दिए ।

कार्यक्रममा धर्मेन्द्र कुमार मिश्र, ईन्द्र न्यौपाने, शिशिर उपाध्याय लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक रन्जन मिश्रले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *