वीरगन्ज :

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

श्रेणी : अर्थ

2 days
Pradeep Sah
2.5kViews
1743 Shares

बीरगन्ज,२२ वैशाख । मुलुकको प्रमुख व्यापारिक नाका बीरगन्ज भन्सार कार्यालयमा सेवा प्रवाह एक सातादेखि प्रभावित बनेको छ। भन्सार विन्दुमा आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गर्ने निर्णयपछि भन्सार जाँचपास प्रक्रिया ठप्प हुँदा ठूलो संख्यामा मालवाहक सवारीसाधन अलपत्र परेका छन्।

वैशाख १५ गतेदेखि लागू गरिएको एमआरपी कार्यान्वयनको विरोधमा आयातकर्ता तथा निर्यातकर्ता भन्सार प्रक्रियामा सहभागी नहुँदा जाँचपास रोकिएको हो। अत्यावश्यक पेट्रोलियम पदार्थ, कच्चा पदार्थ, तरकारी र फलफूल बाहेकका सबै वस्तुको जाँचपास प्रभावित बनेको छ।

बीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार दैनिक दुई सयभन्दा बढी सवारी थपिँदै जाँदा हाल करिब १४ सयभन्दा बढी मालवाहक सवारी जाँचपासको पर्खाइमा रहेका छन्।

उनका अनुसार भन्सार प्रशासन प्रक्रिया अगाडि बढाउन तयार भए पनि आयातकर्ताहरूले घोषणा तथा फाराम भर्ने काम नगरेका कारण प्रक्रिया अघि बढ्न सकेको छैन।

यता भारतीय सीमावर्ती रक्सौल क्षेत्रमा समेत ट्रकको लामो लाइन देखिएको छ। टीआरएस हिमालयन लजिस्टिक पार्कका इन्चार्ज गणेश घिमिरेले समस्या तत्काल समाधान नभए व्यापारिक आपूर्ति शृंखला नै प्रभावित हुने बताएका छन्।

बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले दीर्घकालीन असर पर्ने भएकाले सरकार र व्यवसायीबीच तत्काल सहमति आवश्यक रहेको बताएका छन्।

भन्सार कार्यालयले दैनिक ५० देखि ६० करोड रुपैयाँसम्म राजस्व संकलन गर्दै आएकोमा सेवा अवरुद्ध हुँदा राज्यको राजस्व पनि प्रभावित बनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *