वीरगन्ज :

लाइसेन्स छपाइ सुस्त, पाँच महिनामा २८ हजारमै सीमित उत्पादन

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.3kViews
1686 Shares

काठमाडौं,११ चैत । स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइमा अपेक्षाअनुसार प्रगति हुन नसक्दा सेवाग्राही अझै समस्या भोगिरहेका छन्। यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने सम्झौता भए पनि ५ महिनामा जम्मा २८ हजार थान मात्रै छापिएको छ।

सम्झौताको समयसीमा सकिन अब करिब एक महिना मात्र बाँकी रहँदा छपाइ सुस्त देखिएको हो। विभागका अनुसार हालसम्म २८ हजार लाइसेन्स मात्रै हस्तान्तरण भएको छ भने कुल करिब २८ लाख लाइसेन्स अझै छाप्न बाँकी छ।

छपाइ ढिलो हुँदा वर्षौंदेखि ट्रायल पास गरेका सेवाग्राहीहरू रसिद बोकेर हिँड्न बाध्य छन्। यसअघि ‘जेनजी’ आन्दोलनका क्रममा मीनभवनस्थित विभागमा भएको आगजनीले पुराना प्रिन्टर, सर्भरलगायत उपकरण नष्ट भएपछि विभागले छपाइको जिम्मा मुद्रण केन्द्रलाई दिएको थियो।

काभ्रेपलाञ्चोकको पनौतीस्थित मुद्रण केन्द्रमा कात्तिक २१ गतेबाट छपाइ सुरु भए पनि सुरुवाती चरणमा कच्चा पदार्थ अभाव, खरिद प्रक्रिया र प्राविधिक तयारीका कारण गति लिन सकेन।

मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाका अनुसार अहिले दैनिक २५ हजारदेखि ५० हजार कार्ड छाप्ने क्षमता विकास गरिएको छ। पछिल्ला केही दिनमा मात्र १ लाखभन्दा बढी लाइसेन्स छापिएको उनले दाबी गरेका छन्।

त्यस्तै विभागका निर्देशक केशव खतिवडाले पनि अब छपाइ तीव्र बनाइने र आवश्यक डेटा नियमित रूपमा उपलब्ध गराइरहेको बताए।

अहिले दुई सिफ्टमा काम भइरहेको छ भने आवश्यक परे तीन सिफ्ट सञ्चालन गरेर वैशाख १२ भित्र १२ लाख लाइसेन्स छाप्ने लक्ष्य राखिएको छ। साथै, विगत ३–४ वर्षदेखि थुप्रिएको करिब १२–१३ लाख ‘पेन्डिङ’ लाइसेन्स पनि आगामी तीन महिनाभित्र वितरण गर्ने योजना रहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *